विराटनगर/ लागूऔषध प्रयोगबाट घर र समुदायलाई जोगाउन आमाहरूको भूमिका महTवपूर्ण हुने सरोकारवालाहरूले बताएका छन् । 

महिला पत्रकारहरूको संस्था सञ्चारिका समूह मोरङले मङ्गलबारबाट शुरु गरेको लागूपदार्थ उपचार तथा पुनःस्थापना कार्यक्रममा सरोकारवालाहरूले त्यस्तो बताएका हुन् । उनीहरूले घरको नेतृत्व गर्ने महिलाहरूले नै आफ्ना छोराछोरी दुव्र्यसनमा लागे नलागेको, उनीहरूको चाल–चलन, सङ्गतजस्ता विषय हेरेर सुधार गर्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले लागूऔषध दुव्र्यसन ठूलो समस्याको रूपमा रहेको र बढ्दै गएका कारण यसको न्यूनीकरण अभियान तीव्ररूपमा अगाडि बढाउनुपर्ने बताइन् । घरमा आमा नै बालबालिकाको पहिलो विद्यालय भएकोले दुव्र्यसनरहित नैतिकवान बनाउन आमाहरू सचेत हुनुपर्ने बताइन् । 

नेपाल पत्रकार महासङ्घ एक नम्बर प्रदेश समितिका महासचिव विवेक गौतमले विस्तारै विकराल रूप लिँदै गएको लागूऔषध प्रयोग र ओसार–पसारमा धेरै युवा संलग्न भएको पाइएकोले यसलाई पूर्णरूपमा नियन्त्रणमा लिन जरुरी रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष बन्धु पोखरेलले दुव्र्यसनबाट युवाहरूलाई जोगाउन जरुरी रहेको भन्दै प्रयोगकर्तालाई उपचार र पुनःस्थापनामा पनि समस्या रहेको बताए । 

कार्यक्रममा सञ्चारिका समूह प्रदेश एक अध्यक्ष इन्दिरा भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरङ महिला बालबालिका सेवा केन्द्र प्रमुख इन्स्पेक्टर जमुना बस्नेत, विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख लजिता योञ्जनले सहजीकरण गरेकी थिइन् । तालिममा ३२ जना महिला तथा किशोरीहरूको सहभागिता रहेको सञ्चारिका समूह मोरङकी अध्यक्ष तारा आचार्यले जानकारी दिइन् ।