उदयपुर/ सरकारले निःशुल्क उपलब्ध गराउने सेनिटरी प्याड गुणस्तरहीन भएको विद्यार्थीहरूले गुनासो गरेका छन् । 

उदयपुरको सदरमुकाम गाईघाटमा मङ्गलबार सम्पन्न अन्तर्राष्ट्रिय महिनावारी सरसफाइ दिवस, बहस तथा प्रदर्शनी कार्यक्रममा सहभागी विद्यार्थीले सरकारले उपलब्ध गराउने सेनिटरी प्याड गुणस्तरहीन भएको दाबी गरे । विद्यालयमा प्याड वितरण गर्दा गुणस्तरीय प्याड मात्र वितरण गर्नुपर्ने सहभागीहरूबाट आएका प्रश्नको जवाफ दिन रोष्टममा बसेका प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई विद्यार्थीहरूले आग्रह गरेका थिए । 

बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत अनुस्का राईले विद्यालयमा दिइएको सेनिटरी प्याड कम गुणस्तरको भएकाले प्रयोग गर्दा असर गरेको बताइन् । ‘राम्रै होला भनेर प्रयोग गरेको त प्याडले चिलाउने, गन्हाउने, दुख्ने, सुनिनेजस्ता समस्या आयो’ –उनले बताइन् । 

गुणस्तरहीन भएकाले एलर्जी आउने, दुख्नेजस्ता समस्या आउने गरेको उदयपुरकै मनकामना बोर्डिङ स्कुलकी छात्रा प्रिया राईले बताइन् । कार्यक्रममा करिब एक दर्जनले प्रश्न गरेका थिए । प्रश्न गर्नेमध्येका ८ जनाले प्याड कम गुणस्तरको भएको आरोप लगाएका थिए । 

महिनावारी हुँदा दुखाइ कम गर्ने औषधि सेवन गर्दा झन् बढी रक्तश्राव हुने गरेको त्रियुगा नमूना माध्यमिक विद्यालयकी शिक्षिका किस्मा हमाल ठकुरीले बताइन् । उदयपुरमा १ सय ७० जना छात्रा बराबर एक शौचालय रहेको तथ्याङ्क प्रस्तुत गरेको थियो । महिनावारी हुँदा  करिब ५० प्रतिशत विद्यार्थी विद्यालय नजाने गरेको र १५ प्रतिशतले सेनिटरी प्याड प्रयोग गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।  

सहभागीबाट आएका जिज्ञासाको उत्तर दिँदै मन्त्री घिमिरेले महिनावारी अभिसाप नभई वरदान हो भन्ने भनाइलाई आत्मसात गर्दै प्रदेश सरकारले गुरुयोजना तथा रणनीतिक योजना बनाई अघि बढेको उनले बताए । 

महिनावारी प्राकृतिक कुरा भएकाले पश्चिमको छाउपडी प्रथाको अवशेषहरू ग्रामीणभेगका गाउँघरमा अझै भएकाले त्यसको अन्त्यका लागि मन्त्रालयले योजना अघि सारेको मन्त्री घिमिरेले बताए । हाम्रो समाजमा कुसंस्कार अझै पनि जीवितै रहेकाले यसको प्रतिवादका लागि लाज र धक नमानी अभियान सञ्चालन गरी सचेत बनाउनु पर्ने उनले बताए ।  

सहभागीबाट आएका प्रश्नको जवाफ मन्त्री घिमिरे, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, कटारी अस्पतालका प्रमुख डा. पवन साह, अधिकारकर्मी भरतकुमार खड्का, बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर खड्का, युवा अभियन्ता प्रसुना खड्कालगायतले दिएका थिए ।