झापा/ झापा बिर्तामोडको कनकाई हस्पिटलले सरकारले थालेको ‘स्वास्थ्य बिमा कार्यक्रम’ शुभारम्भ गरेको छ ।
हस्पिटलले आइतबारदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको जनाएको हो । कनकाईले सञ्चालनमा ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको उद्घाटन पहिलो सेवाग्राही यादवकुमारी सापकोटाले गरेकी थिइन् । यसअघि निजी क्षेत्रबाट सञ्चालित झापाका दुई वटा अस्पतालले स्वास्थ्य बिमा लागू गरिसकेका छन् भने झापामा तेस्रो स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने निजी कनकाई भएको हस्पिटलका कार्यवाहक अध्यक्ष महेन्द्रबहादुर राईले बताए ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत एकहजार एकसय ३३ वटा औषधि र ४८ वटा शल्यक्रिया गर्दा लाग्ने सामाग्री बिमा गर्नेले निःशुल्क पाउन कार्यबाहक अध्यक्ष राईले बताए । ‘केही वर्षभित्र सरकारले सबै उपचार निःशुल्क गराउने छ’ कार्यवाहक अध्यक्ष राईले भने ‘७० वर्ष माथिका वृद्धवृद्धाहरूको एकलाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सरकारले नै गर्ने व्यवस्था छ ।’
५५ वेडको हस्पिटल भएको बताउँदै राईले भने ‘यो सेवा लागू गरेपछि हस्पिटलमा ५० वेड, आइसियु र ओपिडी सेवा पनि बढाइनेछ ।’ परिचयपत्रको आधारमा बिमा गरिसकेका सदस्यहरूले सरकारले तोकेको अस्पतालबाट एकलाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्ने हस्पिटलका कार्यवाहक अध्यक्ष राईले जानकारी दिए ।
पाँच जनाको परिवारले बिमा शुल्कवापत् प्रत्येक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्नेछ । अतिरिक्त सदस्यले भने ४२५ रुपैयाँका दरले शुल्क बुझाउनु पर्छ । यसअघि ५ जनाको परिवारले दुईहजार ५ सयमा गर्दै आएको स्वास्थ्य बिमामा ५० हजारसम्मको सेवा प्राप्त गर्दथे । ३ हजार ५ सय रुपैयाँ बिमा गराउने सेवाग्राहीको एकलाख रुपैयाँको बिमा हुने र भदौ महिनादेखि मात्र सेवा पाउने हस्पिटलका अर्का सञ्चालक फडेन्द्र चापागाईंले बताए ।
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्नेले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपिडी सेवा, इमर्जेन्सी, ल्याब सेवा, सामान्य शल्यक्रियालगायतका उपचार प्राप्त गर्न सक्ने छ भने सरकारले तोकेको निःशुल्क औषधि प्राप्त गर्न सकिने छ ।