भण्टाबारी/ सुनसरी सदरमुकाम इनरुवामा नवनिर्मित बसपार्क अझैसम्म सञ्चालनमा आएको छैन । उद्घाटन गरिएको ५ महिना बितिसक्दासमेत इनरुवा बसपार्क सञ्चालनमा आउन नसकेको हो ।

कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पौष २५ गते वर्तमान उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए । कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिले करिब १० करोड रुपैयाँको हाराहारीमा इनरुवा बसपार्कको निर्माण सम्पन्न गरेको कन्स्ट्रक्सनका इञ्जिनियर सञ्जय अधिकारीले जानकारी दिए ।

शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरद्वारा निर्मित उक्त बसपार्क सञ्चालनमा नआउँदा युवायुवतीहरूको डेटिङस्थलका रूपमा परिणत भएको छ । एकान्त स्थानमा निर्मित बसपार्क सञ्चालनमा आउन अझै कति समय लाग्ने भन्ने टुङ्गो छैन । तर माया–प्रेम गर्ने स्कुल, कलेजका जोडीको पर्पोज गर्ने र सेल्फी खिच्ने सुरक्षित स्थानका रूपमा रहँदै आएको छ, बसपार्क केही महिनायता ।

शहरी विकास मन्त्रालयमार्फत् निर्मित इनरुवा बसपार्क पूर्वका बसपार्कमध्ये उत्कृष्ट भएको दाबी गरिँदै आएको छ । इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि बसपार्कको प्रतीक्षालय, टिकट काउण्टरसहितका भित्तामा अनावश्यक कुरा लेख्ने क्रम बढ्दो छ । खासगरी साँझको समयमा जाने युवायुवती तथा किशोरावस्थाका जोडीले बसपार्कको भित्तामा नाम, मोबाइल नम्बरसहित विभिन्न प्रकारका साङ्केतिक शब्द लेखेको देख्न सकिन्छ ।

बसपार्कमा केही दिनअघि भेटिएका एकजना युवाले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘दैनिक दर्जनौंको सङ्ख्यामा युवायुवती आउँछन्, एकछिन रमाइलो गर्छन् अनि जान्छन् । माया–प्रेम गर्ने जोडी मात्रै नभई घुम्ने र फोटो लिने उद्देश्यले समेत धेरै आउने गरेको उनले बताए । बसपार्कमा अनावश्यक कुरा लेख्नु गलत भएको उनले बताए । उनले भने, ‘के गर्नु हामीले न लेख भन्दा मान्दैनन्, साथीभाइमा झगडा गर्नु पनि भएन । स्कुल बिदापछि रमाइलो गरिन्छ ।’

सङ्घीय सरकारको साङ्केतिक विरोधस्वरूप उद्घाटन गरिए पनि बसपार्क सञ्चालनमा नल्याएको इनरुवा नगरपालिकाका मेयर राजन मेहताले बताए । शहरी विकास मन्त्रालयले इनरुवा नगरपालिकालाई दिनुपर्ने रकम नदिएकोले विरोधस्वरूप बसपार्क सञ्चालन नगरेको मेयर मेहता बताउँछन् । ‘इनरुवा नपाको डेढ बिघा जग्गामा निर्मित बसपार्कसहित इनरुवा नगरक्षेत्रको बाटो, ढल तथा अन्य पूर्वाधार निर्माण गर्न २ अर्ब बराबरको रकम पाउनुपर्ने हो’ मेयर मेहताले भने, ‘तर टेण्डर १ अर्ब ८० करोडमा मात्रै भयो । त्यसबापतको २० करोड र शहरी स्मार्ट सिटी अन्तर्गतको थप रकम इनरुवा नपाले पाएमात्र बसपार्क सञ्चालनमा ल्याउँछौं ।’