विराटनगर/ तेह्रथुम घर भई कामको शिलशिलामा विराटनगर बस्दै आएकी सीता भट्टराई एक निजी हस्पिटलमा काम गर्ने क्रममा चाँजमा लगाएको मोवाइल चोरी भयो । सामसुङ कम्पनीको मोबाइलको ब्याट्री सकिएर चाँजमा लगाएर बाहिर निस्किएका थिइन्, कसैले चोरी गरेछ ।

सीतासँगै काम गर्ने धरान–१७ घर भएकी यशोदा भट्टराईको पनि मोबाइल चोरी भयो । उनीहरू दुवै जनाको मोबाइल गत ३० वैशाखमा राति चार्जमा लगाएको बेला चोरी भएको हो । मोबाइल हराएको भोलिपल्ट सीता र यशोदा जिल्ला प्रहरी मोरङ पुगे । सीम ब्लक गराए अनि मोबाइल खोजिदिन आग्रह गर्दै प्रहरीमा निवेदन दर्ता गराए ।

प्रहरी कार्यालयमा निवेदन दर्ता भएको १५ दिन पछि उनीहरूको मोबाइलमा फोन आयो । ‘तपाईँको हराएको मोबाइल फेला पर्यो, लिन आउनु होला’ १५ दिनपछि मोरङ प्रहरी कार्यालयबाट सीता र यशोदालाई फोन गयो । ‘म त छक्क परे चोरी भएको मोबाइल भेटियो,’ मोबाइल लिन आएकी सीताले जिप्रका मोरङ परिसरमा भनिन्, ‘मोबाइल हराए पनि प्रहरीको सक्रियतामा फेला भने पर्ने रहेछ । मैले त नभेटिएका भनेर आश मारेको थिएँ ।’ त्यस्तै विराटनगरका निश्चल श्रेष्ठको पनि भर्खर किनेको मोबाइल आँखा झिमिक्क पार्दा चोरी भयो । विवाह पार्टीमा मोबाइल टेबलमा राखेर उठेको मात्र थिए । एक्कै छिनमा चोरी भयो ।

प्रहरीले तीन महिना जति अनुसन्धान गरेर श्रेष्ठको मोबाइल भेट्टाइदिएको थियो । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङ पुगेर आफ्नो मोबाइल फिर्ता लिँदै श्रेष्ठले भने, ‘मोबाइल हराएपछि भेटिएला भन्ने आश थिएन तर साथीले प्रहरीलाई निवेदन दिए फेला पर्छ भनेपछि प्रक्रिया चालेकी थिएँ । आशा मारिसकेको मोबाइल भेटियो ।’ उनले प्रहरीको सकारात्मक सहयोगकै कारण आफूले हराएको मोबाइल पुनः प्राप्त गरेको भन्दै प्रहरीलाई धन्यवाद पनि दिए ।
आइतबार एकै दिन हराएको ९ थान मोबाइल खोजी गरेर सम्बन्धित मोबाइल धनीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय

मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १ सय ६० थान हराएको मोबाइल सम्बन्धित धनीलाई बुझाएको जानकारी दिए । जसमा हराएको मोबाइल खोज्ने क्रममा ३८ जना मोबाइल चोरीमा संलग्न भएको भेटिएपछि चोरी अन्तर्गत मुद्दा पनि चलाएको प्रहरीले जनाएको छ ।

मोबाइल खोज्न इन्स्पेक्टरको नेतृत्वमा टोली
हराएकोको मोबाइलको खोजी गर्न जिप्रका मोरङमा इन्स्पेक्टर आशाराम चौधरीको नेतृत्वमा टोली रहेको छ । मोबाइल हराएपछि पहिले प्रहरी कहाँ खोजिदिन आग्रह गर्दै निवेदन मोरङ प्रहरीमा दर्ता भएपछि चौधरीको नेतृत्वको टिमले मोबाइल खोजी गर्दछ ।

निवेदकले आइएमइआइ कोडसहितको निवेदन दर्ता गराएपछि प्रहरीले त्यो कोड र मोबाइल नम्बर प्रहरीको प्रधान कार्यालयमा पठाउँछ । सिडिआर भन्ने सिस्टममा हालेपछि मोबाइलमा नयाँ सीम हालेर चलाए त्यसको कल डिटेल र लोकेशन प्रहरीले पत्ता लगाउँछ । ‘त्यसपछि मोबाइल चलाउने व्यक्तिलाई फोन गरेर प्रहरी कार्यालयमा आई बुझाउन भन्छौं,’ डिएसपी श्रेष्ठले भने, ‘अटेँर गरे प्रहरी टोली परिचालन गरी सम्बन्धित ठाउँमै गई पक्राउ गरेर ल्याइन्छ ।’