बिर्तामोड/ यसवर्ष जेठ महिनामै बजारमा तरकारी छोइनसक्नु महँगो भएको छ । विगतका वर्षहरूमा साउन, भदौदेखि महँगो हुने तरकारी उपभोक्ताको क्षमताले धान्न नसक्ने अवस्थामा पुगेको छ । तरकारी बजारमा अदुवाले सबैभन्दा महँगो मूल्यको रेकर्ड राखेको छ । अहिले अदुवा २ सय रुपैयाँ प्रतिकिलो होलसेल बिक्री भइरहेको बिक्रेताले बताएका छन् । 

विगतका वर्षहरूमा अदुवाको बजार मूल्य बढीमा १ सय रुपैयाँ प्रतिकेजी पुगेको व्यापारी बताउँछन् । तर अदुवा खेतीमा ह्रास आएसँगै भाउ उच्च हुन थालेको हो । अदुवापछि महँगीको प्रभाव गोलभेडामा परेको छ । प्रदेश १ कै ठूलो कृषिथोक बजार बिर्तामोडमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँमा (खुद्रा) कारोबार हुन थालेको छ । ‘यो सिजन गोलभेडाको यतिधेरै भाउ आउने होइन, कृषिथोक बजारका खुद्रा बिक्रेता अर्जुन रोक्काले भने, ‘उत्पादनमा कमी आएका कारण अचाक्ली भाउ आएको हो ।’ सामान्यतया मनसुन शुरु भएपछि  तरकारीको मूल्य बढ्ने भए पनि यो पटक उत्पादनमा ह्रास आएका कारण मूल्य आकासिएको उनको दाबी छ । 

गतवर्ष नेपालको बजारमा खपत हुन नसक्ने परिमाणमा गोलभेडा फलेको थियो । त्यो बेला नेपाली गोलभेडा भारतसमेत निर्यात भएको थियो । भारत निर्यात गर्दा पनि उत्पादित गोलभेडा नसकिएपछि फ्याँक्नुपरेको शान्तिनगरका किसान खेमराज पौडेलले बताए । गतवर्ष बिक्री नभएपछि किसानले यो वर्ष गोलभेडा खेती घटाउँदा बजारमा अभाव सिर्जना भएको हो । 

गतवर्ष डेढ बिघा क्षेत्रफलमा गोलभेडा रोपेका झापा बुद्धशान्ति–७ का खेमराज पौडेलले यस वर्ष १ बिघा क्षेत्रफलमा मात्र गोलभेडा लगाए । ‘पोहोर उत्पादन गरेको गोलभेडा बारीमै कुहियो’ पौडेलले भने, ‘यसवर्ष १० कठ्ठा कम क्षेत्रफलमा गोलभेडा लगाएँ, अहिले बजारको मागलाई धान्न धौ–धौ परिरहेको छ ।’

भारतमा धेरै उत्पादन भए नेपालको गोलभेडाले मूल्य नै नपाउने उनी बताउँछन् । ‘भारतको उत्पादन हेरेर हामीले उत्पादन गरेको तरकारीको मूल्य निर्धारण हुन्छ’  पौडेलले भने, ‘नेपाली बजार भारतीय उत्पादनमा निर्भर हुने भएकाले हामीले उत्पादन गरेको तरकारीको मूल्यमा हरेक वर्ष एकरूपता हुँदैन ।’ गतवर्ष बारीमा नै कुहिएको गोलभेडा यसवर्ष व्यापारी घरमै आएर खरिद गर्दै आएको पौडेलको भनाइ छ । पौडेलले अहिले ५० रुपैयाँ प्रतिकिलो गोलभेडा बिक्री गर्दै आएका छन् ।

‘किसानले गतवर्ष उचित मूल्य नपाएका कारण यसवर्ष थोरै परिमाणमा गोलभेडा उत्पादन गरे’ कृषिथोक बजारका व्यापारी नारायण साहले भने, ‘गतवर्ष नेपालमा उत्पादन भएको गोलभेडाले उचित मूल्य नपाए पनि यसवर्ष ६० प्रतिशत मात्र बजार धानेको छ, बाँकी ४० प्रतिशत भारतबाट आयात भइरहेकोे छ ।’ कृषिथोक बजारका होलसेल व्यापारी साहले थोक मूल्य ४० रुपैयाँ प्रतिकेजी खरिद गर्दै आएका छन् । साहले दैनिक ३ हजार केजी गोलभेडा कृषिथोक बजारमा भित्रिँदै आएको जानकारी दिए । उत्पादनमा सन्तुलन नभएको कारणले उपभोक्ता र कृषक दुवै मारमा पर्दै आएका छन् । 

वैशाख पहिलो सातासम्म २० रुपैयाँ प्रतिकेजीमा कारोबार हुँदै आएको गोलभेडा अहिले ८० रुपैयाँसम्म खर्चिनु परेको बिर्तामोड नगरपालिका–३ की रूपा लिम्बूले बताइन् । गोलभेडा मात्र नभएर सबै तरकारीको भाउ अत्यधिक बढेको उपभोक्ताको गुनासो छ । ‘महँगीले तरकारी किनेर छाक टार्न पनि गाह्रो हुनथाल्यो’ लिम्बूले भनिन्, ‘प्रत्येक दिन दुईसय बढीको तरकारी खपत हुन्छ, तरकारी किनेर खान नसकिने भइयो ।’ एक साताको लागि तरकारी किन्न भनेर कृषिथोक बजार आइपुगेकी कन्काई नगरपालिका–३ की गीता गिरीले महँगीका कारण छुट्याएको रकमले दुई–तीन दिनमात्र पुग्ने तरकारी किनेर फर्किएको बताइन् । औषत आम्दानी भएका उपभोक्तालाई महँगीले धेरै नै सताएको उनी बताउँछिन् । 

अदुवा र गोलभेडा मात्र नभएर सबै तरकारीको भाउ यतिबेला आकासिएको छ । फर्सी, स्कुसको मुन्टा ५० रुपैयाँ प्रतिमुठा, सिमी ६० रुपैयाँ प्रतिकेजी, बन्दाकोपी, करेला, भिण्डी, स्कुस, आलु ४० देखि ५० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको व्यापारी रोक्काले बताए । गतवर्षको तुलनामा यसवर्ष तरकारीको भाउ धेरै बढेको उनको भनाइ छ । ‘होलसेलबाट हामीले खरिद गर्दा नै महँगो पर्ने गर्छ’ रोक्काले भने, ‘उपभोक्ता यतिबेला महँगो मूल्य तिर्न बाध्य छन् ।’ यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने सङ्केत देखिएको व्यापारीको भनाइ छ । यसकारण बजेटपछि दैनिक उपभोग्य वस्तुको मूल्य अझ वृद्धि हुने निश्चित रहेको विज्ञहरू बताउँछन् । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।