पाँचथर/ नौ जनाको ज्यान गएको आरुबोटे हत्याकाण्डको अनुसन्धान गरिरहेको प्रहरीले थप प्रमाण फेला परेको छ । 

अनुसन्धानको क्रममा प्रहरीले आत्महत्या गरेका मानबहादुर माखिमको घरमा रगत लागेको टिसर्ट र डोरी फेला पारेको हो । पाँचथर प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार मिक्लाजुङ–७ लिम्बास्थित मानबहादुरको घरबाट रगत लागेको एउटा टिसर्ट र उनले आत्महत्या गर्दा प्रयोग गरेको जस्तै डोरी भेटिएको हो । त्यस्तै मानबहादुरले आत्महत्या गरेको स्थानमा पनि एउटा एनसेलको सिमकार्ड फेला परेको छ । उक्त सिमकार्ड मानबहादुरले नै प्रयोग गरेको हो कि होइन त्यो भने यकिन हुन बाँकी रहेको प्रहरी प्रवक्ता पौडेलले बताए । 

मानबहादुर हत्याकाण्डमा मारिएका बमबहादुर फियाकका कान्छा ज्वाइँ हुन् । प्रहरीले उनैले हत्या गरेको आशङ्का गरेको छ । हत्याकाण्डअघिको नुनमा सिसा मिसाइएको काण्डमा समेत दोषी आशङ्का गरिएका मानबहादुरलाई प्रहरीले शुरुदेखि नै हत्याराको आशङ्का गर्दै आएको छ । पछिल्लो समय भेटिएका प्रमाणले हत्याकाण्डको अनुसन्धानमा सहयोग पु¥याउने प्रहरी स्रोतले बताएको छ । सिसाकाण्डलाई गम्भीरतापूर्वक नलिएको भन्दै प्रहरीसँग असन्तुष्ट बनेका स्थानीयले हत्याकाण्डको सूक्ष्म ढङ्गले अनुसन्धान गर्न प्रहरी र स्थानीय प्रशासनसँग माग गर्दै आएका छन् । 

मुलुकलाई नै भावविह्वल बनाउने गरी सोमबार राति भएको हत्याकाण्डमा मिक्लाजुङ–३ आरुबोटेका ७५ वर्षीय बमबहादुर फियाकको घरमा उनीसहित चार र उनका माइला ज्वाइँ ३४ वर्षीय धनराज शेर्माको घरमा उनीसहित पाँच जनाको सामूहिक हत्या भएको थियो । सिसा काण्डकै विकसित रूप उक्त हत्याकाण्ड भएको स्थानीयले बताउँदै आएका छन् । सिसा काण्डलाई गम्भीरतापूर्वक अनुसन्धान नभएको भन्दै प्रहरीसँग स्थानीय रुष्ट बनेका हुन् ।