इटहरी/ इटहरी उपमहानगरपालिकाले हचुवाको भरमा जग्गा दलालको पक्षमा निर्णय गरेको भन्दै इटहरी–३ का जनता आक्रोसित बनेका छन् ।

प्लटिङ गरिएका जग्गा जोड्न इटहरी–३ को सिंचाइको मुख्य स्रोत सिमसार मासेर निर्माण गर्न लागिएको पुलका लागि उपमहानगरले सहमति जनाएपछि  स्थानीयले आपत्ति जनाएका हुन् ।

जग्गा दलालहरूले पहिले नै ३ नम्बर वडा कार्यालयमा सिफारिस मागेका थिए तर वडाले सिमसार मासिने भन्दै पुल बनाउन रोक लगाएको थियो । तर वैशाख ३ गते इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले पुल बनाउन सिफारिस दिएपछि स्थानीयबासी आक्रोसित भएका हुन् । ३ नम्बर वडा कार्यालयले रोकेको निर्णय उपमहानगरपालिकाले फुकुवा गरेपछि विवाद उत्पन्न भएको हो ।

इटहरी वडानम्बर ३ भरिका लागि भुलभुले सिमसार सिंचाइको स्रोतको रूपमा रहेको छ । तर त्यही सिमसार मास्न खोजिएको बूढी पटेरुवा जल उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर महतले बताए । सिमसारबाट करिब १३ सय बिघा क्षेत्रमा सिंचाइका लागि पानी जाने गरेको थियो । पुल बनाएमा ढुङ्गा–गिट्टीलगायतका कङ्क्रिटले सिमसार मासिने भएकाले विरोध जनाएको अध्यक्ष महतले बताए ।  

सिमसारलाई प्रत्यक्ष असर गर्ने गरी प्लटिङको जग्गा जोड्न पुल बनाउन उपमहानगरपालिकाले सिफारिस दिएको छ । वडानम्बर ३ को कार्यालयले सिंचाइ मासिने भन्दै पुलका लागि सिफारिस रोकेको थियो । तर वडा कार्यालयलाई नै बाइपास गर्दै उपमेयर गौतमले पुल बनाउन सिफारिस दिएपछि इटहरी–३ का वडाअध्यक्ष बालकृष्ण विष्टसमेत रुष्ट बनेका छन् । 

वडा कार्यालय, पैनी समिति र स्थानीयवासीसँग छलफल नै नगरी एकै पटक उपमेयरले मनोमानी ढङ्गले सिफारिस दिएको स्थानीय किसान खगेन्द्र सुवेदीले बताए । भुलभुले पानी उम्रने सिमसार करिब १ किलोमिटरमाथि जङ्गलसम्म जोडिएको छ । यहाँका किसानले २०१२–१३ सालदेखि सोही सिमसारको पानी सिंचाइको रूपमा प्रयोग गर्दै आएका छन् ।

धान, मकै, गहुँलगायतका बालीमा किसानले त्यहीँको पानी प्रयोग गर्दै आएका छन् । तर सिंचाइको मुटु रहेको सिमसारलाई नै मास्न षड्यन्त्र भइरहेको भन्दै त्यसो हुन नदिने बूढी पटेरुवा जल उपभोक्ता समितिका सचिव कालीबहादुर लिम्बूले बताए । पैनी समितिले पुल बनाउन नदिने निर्णय नै गरेको उनले जनाए । उनले भने, ‘उपमहानगरपालिकाको निर्णय हामी मान्दैनौं ।’  

कर्णबहादुर अधिकारीसहितको निवेदनका आधारमा उपमहानगरपालिकाले सिफारिस दिइएको छ । वडा कार्यालयले सिफारिस दिन नमानेपछि प्लटिङवाला भूमाफियाले केही व्यक्तिको धनीपुर्जासमेत देखाई सिफारिस लिएका छन् । सिमसार रहेको पूर्वतर्फ केही स्थानीयसहितले जग्गा खरिद गरी प्लटिङ शुरु गरेका छन् । प्लटिङको बाटो सो सिमसारसम्म जोडिएको छ । पश्चिमतर्फ गाउँ  छ ।

बीच भागमा रहेको सिमसार क्षेत्रमा कङ्क्रिट पुल बनाउन प्लटिङवालाले स्थानीय व्यक्तिलाई अगाडि सारेर उपमहानगरबाट सिफारिस लिएका छन् । वडाध्यक्ष विष्टले आफूले सिफारिस दिन रोकेको तर उपमेयरले वडालाई बाइपास र हस्तक्षेप गर्दै सिफारिस दिएको बताउँछन् । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले भने आफूले हस्तक्षेप नगरेको बताइन् । उनले पुल बनाउन सिफारिस दिएको भने स्वीकारिन् ।