काँकडभिट्टा । बल प्रयोग गरेर सुकुम्बासी बस्ती खाली गर्ने अप्रिय योजनाबाट मेचीनगर नगरपालिका पछि हटेको छ ।
आपसी समझदारीबाटै समाधान खोज्न नगरपालिका अग्रसर भएपछि मेचीनगर–६ काँकरभिट्टा स्थित भानुटोलका २२ परिवारले तत्कालका लागि ढुक्कको सास फेर्न पाउने भएका छन् । यसअघि जग्गा खाली गर्न नगरपालिकाले लगातार उर्दी जारी गरेपछि समस्या उत्पन्न भएको थियो ।

नगरपालिकाले यसै आर्थिक वर्षमा ४५ लाख लगानी गरी बहुउद्देश्यीय व्यापारिक भवन बनाउने भन्दै सुकुम्वासी परिवारलाई जग्गा खाली गर्न सूचना जारी गर्दै आएको थियो । तर, दुई दशक अघिदेखि सोही स्थानमा बसोबास गरी साना पसल चलाउँदै आएका सुकुम्वासीहरूले वैकल्पिक व्यवस्था नभएसम्म जग्गा खाली नगर्ने अडान राखेका थिए ।

दुवै पक्षको अडानले तनाव बढिरहेका बेला गत सोमबार नगरपालिकामा भएको सुकुम्वासी परिवार, नगरपालिका र राजनीतिक दलका नेताहरूको छलफलबाट समाधानको निकास निस्किएको छ । स्रोतका अनुसार नेकपा मेचीनगरका अध्यक्ष माधव अर्याल विकल्पबिना सुकुम्बासी हटाउने नगरपालिकाको निर्णयको विपक्षमा उभिएपछि घटनाले नयाँ मोड लिएको हो । सर्वपक्षीय छलफलबाट नगरपालिकाले तत्काल सुकुम्वासीलाई बल प्रयोग गरेर हटाउने छैन ।