पथरी । मोरङको कानेपोखरी–रङ्गेली सडक ठेक्का लागेको आठ वर्षपछि कालोपत्रे गर्न ठेकेदार कम्पनीले शुरु गरेको छ । धेरै वर्षको प्रतीक्षापछि सडकमा कालोपत्रे शुरु भएपछि यस क्षेत्रका नागरिकमा खुसीयाली छाएको छ ।
पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको साइड इञ्र्चाज नरेश खड्काले बताए । रङ्गेली नगरपालिका(९,फार्साडाँगी चोकबाट उत्तर–पूर्वपश्चिम राजमार्ग जोड्ने कानेपोखरी चोकसम्म पहिलो पटक कालोपत्रे गर्न लागिएको हो । हाल रङ्गेली नगरपालिका–९, फार्साडाँगी चोकबाट उत्तर कालोपत्रे शुरु भएको छ । ७ मिटर चौडा कालोपत्रेमा ४० एमएमको मोटाई पिच हुने छ ।
पिच गरिएको दायाँ–बायाँ २ मिटर ग्राभेल लगाइसकिएको छ । पहिलो पटक १५.४४ किलोमिटर कालोपत्रे जेठ मसान्तभित्र सक्ने योजना रहेको साइड इञ्र्चाज खड्काले बताए । हुलाकी सडक आयोजनाका क्षेत्रीय कार्यालयका अनुसार २०७४ असार ६ गते कामको जिम्मा पाएको लामा, डाँफे, द कञ्चनजङ्घा कन्स्ट्रक्सन कम्पनीले २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता भएको छ । तर कम्पनीले समयमै काम नसक्ने भएको छ । बाँकी दक्षिण फार्साडाँगीदेखि रङ्गेलीसम्म लगभग ९ किलोमिटर कालोपत्रे सडक अर्को वर्ष गर्ने योजना रहेको कम्पनी बताउँछ । कालोपत्रे शुरु गरेता पनि साइडमा ड्रेन र पुल निर्माण भने काम भइरहेको छ ।
भारतीय ठेकेदार कम्पनी जिभिआर इन्फ्रा प्रोजेक्ट लि. चेन्नइले २०११ को मार्चमा काम शुरु गरेर २०१३ को अगस्तमा नेपाल सरकारलाई सडक जिम्मा लगाउने सम्झौता गरेको थियो तर उक्त कम्पनी १८ महिनापछि सडकको काम छाडेर भागेपछि भारत सरकारको अनुदान सहयोगमा नेपाली निर्माण कम्पनी लामा, डाँफे द कञ्चनजङ्घा कन्सट्रक्सन कम्पनीले सडक कालोपत्रे गर्ने जिम्मा पाएको थियो । भारतीय कम्पनीले सडक निर्माण गर्न नसके पछि नेपाली कम्पनीले पाए पनि अनुगमनको अधिकार भने भारतीयको नै रहेको छ । कानेपोखरी–रङ्गेली सडक हुलाकी राजमार्ग र महेन्द्र राजमार्ग जोड्ने भित्री सडक हो । २५.४ किलोमिटर लम्बाईको योजनामा कुल ७० करोड २४ लाख ३१ हजार ६७९ रुपैयाँमा सडक निर्माणका लागि ठेक्का लागेको थियो । सरकारले कानेपोखरी–रङ्गेली सडकखण्डका उपभोक्ताको जग्गा अधिग्रहण गरेबापत् पाँच करोड ६ लाख ५६ हजार १६ रुपैयाँ मुआब्जा वितरण गरेको थियो ।