धरान । सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरूले सञ्चार सामग्री राखेर प्रदर्शनमा उत्रिएका छन् ।
शुक्रबार देशभरका जिल्ला प्रशासन अगाडि आफ्ना सञ्चार सामग्री राखेर धर्ना दिएका हुन् । सुनसरीका इनरुवा संवाददाताका अनुसार जिल्ला प्रशासन अघिल्तिर पत्रकारहरूले प्रदर्शन गरे । पत्रकारहरूले प्रशासन अगाडि सञ्चार सामाग्री क्यामेरा, रेकर्डर, कलमलगायतका सामाग्री भुईँमा राखेर प्रदर्शन गरेको महासङ्घका सुनसरी सदस्य अजितकुमार झाले बताए ।
विधेयकमा राखिएका केही प्रावधानले नागरिकको स्वतन्त्रतासमेत हनन् गर्ने र प्रेसको घाँटी निमोठ्ने अवस्था आएको भन्दै पत्रकार महासङ्घ सुनसरीको अगुवाइमा प्रशासन अगाडि प्रदर्शन गरिएको महासङ्घ सुनसरीका सचिव हिमाल दाहालले बताए ।
प्रदर्शनपछि कोणसभामा महासङ्घ सुनसरीका पूर्वअध्यक्ष हर्ष सुब्बाले राज्यले पत्रकारहरूलाई नियोजितरूपमा नियन्त्रणमा राख्न खोजेको आरोप लगाए । कार्यक्रममा प्रेस सेन्टर प्रदेश १ का संयोजक राजन केडीले सरकारले ल्याएको विधेयक तत्काल फिर्ता गर्नका लागि माग गरेका थिए । नेपाल प्रेस युनियन सुनसरीका सभापति धनबहादुर पुरीले पत्रकारितामा राज्यको हस्तक्षेप बन्द नगरिए आन्दोलन थप शशक्त हुने चेतावनी दिए ।
महासङ्घ सुनसरी अध्यक्ष अमर खड्काले सरकारले आम जनताको सूचनाको हकमा बन्देज लगाउने तयारी मान्य नहुने बताए । विधेयक तत्काल फिर्ता गर्न माग गर्दै समाचार लेख्नेहरूलाई सरकारले लखेट्न खोजेको आरोप लगाए । कार्यक्रममा सुनसरी सदरमुकाम इनरुवा, इटहरी, दुहबी, रामधुनी र धरानका पत्रकारहरू सहभागी थिए ।
त्यस्तै उर्लाबारीका संवाददाताका अनुसार पूर्वी मोरङका पत्रकारहरूले पनि उर्लाबारीमा एक घण्टा सञ्चार सामग्रीसहित प्रदर्शन गरेका छन् । बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी, रतुवामाई र मिक्लाजुङका पत्रकारहरू भेला भई उर्लाबारीको मुख्य चौकमा एक घण्टा सञ्चार सामग्री राखेर प्रदर्शन गरेका हुन् ।
सो विधेयकको विरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासङ्घको पहिलो चरणको कार्यक्रमअनुसार सञ्चार सामग्री प्रदर्शन गरिएको महासङ्घका मोरङ सदस्य सुमन घिमिरेले बताए । उर्लाबारीस्थित सञ्चार क्लब नेपालको कार्यालयबाट शुरु भएको प्रदर्शन मुख्य चौकमा सञ्चार सामाग्री प्रदर्शन गर्र्दै समापन गरिएको थियो ।
यस्तै उदयपुर संवाददाताका अनुसार प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयकको उदयपुरमा पनि पत्रकारहरूले विरोध गरेका छन् । पत्रकारहरूले आफ्नो क्यामेरा, डायरी, कलमलगायतका सामाग्री चौरीमा थुपारेर जिल्ला प्रशासन कार्यालय उदयपुर अगाडि एक घण्टा धर्ना बसेका थिए ।
महासङ्घ शाखा उदयपुरको नेतृत्वमा सरकारले ल्याएको विधेयक तत्काल फिर्ता लिई स्वतन्त्रपूर्वक पत्रकारहरूलाई पेशालाई मर्यादित र व्यावस्थति बनाउने खाल्को कानूनको निर्माण गर्नुपर्ने अध्यक्ष भरत खड्काले बताए ।