विराटनगर/ विराटनगर–१८ को बुधनगरमा निर्माणाधीन एकीकृत जाँचचौकी (आईसीपी) को भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
भारत सरकारको लगानीमा १ सय २९ बिघा क्षेत्रमा निर्माणाधीन आइसपीको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीको दाबी छ ।
निर्माण कम्पनीका व्यवस्थापक इञ्जिनियर अवधेशकुमार साहले हालसम्म आईसीपीभित्र रहने सम्पूर्ण भवनको मुख्य काम सकिएको र फिनिसिङ मात्र गर्न बाँकी रहेको जानकारी दिए । उनले हालसम्म आईसीपी परियोजना क्षेत्रको पर्खाल निर्माण, मुख्य भवन, ओभरहेड ट्याङ्क निर्माण, प्रवेशद्वार निर्माणलगायतका काम भएको र परियोजनाको ९० प्रतिशतभन्दा बढी काम सकिएको जानकारी दिए ।
‘आईसपीको मुख्य कामहरू सकिसकेको छ । अब फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ’ उनले भने, ‘बाँकी केही कामका लागि सरकारलाई भारतबाट छुटमा सामान आयातका लागि पत्र पठाएका छौं । स्वीकृत हुनेबित्तिकै बाँकी काम पनि सक्नेछौं ।’ भारततर्फको आईसीपी यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ ।
आइसीपीको निर्माण पूरा गर्ने यसअगाडी मार्च ३१ (चैत १७ गते) पहिलो म्याद नाघिसकेको छ । त्यसपछिको तीन महिनाको म्यादसमेत जून ३१ सम्मलाई दिइएको छ । आईसीपी निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१३ मा तयार गरिएको थियो । त्यसको तीनवर्षपछि सन् २०१६ मा ठेक्का सम्झौता भएर सन् २०१७ देखि काम थालिएको हो ।
विद्युत् लाइनको काम अघि बढेन
निर्माण कार्य अन्तिम चरणमा पुगे पनि आवेदन दिने निकाय यकिन नहुँदा आइसीपीमा विद्युत् लाइन विस्तारको काम अगाडि बढ्न सकेको छैन । भारतीय कम्पनी दिनेशचन्द्र एण्ड आर.अग्रवाल इन्फा डटकम परियोजनाले आईसीपीको निर्माण गर्दै आएको छ । यसको स्वामित्व शहरी विकास तथा भवन डिभिजन कार्यालयले लिनुपर्ने भए पनि त्यसपछिको हस्तान्तरण गर्ने कार्यालय कुन हुने भन्ने विषय अन्यौल भएपछि लाइन विस्तारको काम पनि रोकिएको हो ।
अहिले निर्माण कम्पनीले शहरी विकास तथा भवन डिभिजनमार्फत् लाइन विस्तार गरिदिन नेपाल विद्युत् प्राधिकरणको विराटनगर वितरण केन्द्रमा निवेदन दिएको छ । तर, विद्युत् कार्यालयले आधिकारिक निकायको माग फारमसहित आवश्यक कागजात पेश गरेपछि मात्रै लाइन विस्तार गर्ने जवाफ दिएको छ ।
विद्युत् प्राधिकरणका इञ्जिनियर विजुलीप्रसाद यादवका अनुसार एक हजार केभीएको ट्रान्सफर्मर जडान गरेर मिटर राख्ने माग गर्ने आधिकारिक कार्यालय कोही नहुँदा लाइन विस्तार गर्न नसकिएको हो । जसको नाममा लाइन विस्तार गरिने हो उसैले आवश्यक प्रक्रिया पूरा गरेपछि काम शुरु गर्ने विद्युत् प्राधिकरणको तयारी छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरका प्रमुख काशी गुप्ताले सरकारीस्तरमै यसको हल नखोज्दासम्म समस्या समाधान हुन नसक्ने बताए । उनले विषय प्राविधिक देखिए पनि नीति समस्या भएकोले शहरी विकास तथा भवन डिभिजन र भन्सार विभागसँग राय लिएर अगाडि बढ्ने बताए ।
निर्माण कम्पनीका व्यवस्थापक साहले सबै संरचनाहरूमा वाइरिङको काम गरिए पनि त्यसको परीक्षणको काम विद्युत् लाइन नहुँदा रोकिएको बताए । विद्युत् आपूर्तिपछि मात्रै सिसी टिभी, विद्युतीय लाइट, पीए सिस्टमको जडान गरेर परीक्षण गर्न एक महिना लाग्ने इञ्जिनियर साहको भनाइ छ ।