भद्रपुर भद्रपुर नगरपालिकाले आर्थिक वर्ष ०७६।७७ का लागि वार्षीक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन एकलौटी तरिकाले तयार गरेर जनताको झारो टार्ने काम भएको भन्दै वडाध्यक्षले आपत्ति जनाएका छन् ।
नगरले मङ्गलबार कार्यालयमा आयोजना गरेको आर्थिक वर्ष ०७६।७७ का लागि बजेट नीति तथा कार्यक्रम तयारीका लागि पूर्व योजना तर्जुमा गोष्ठीमा चारजना वडाध्यक्षले असहमति जनाएका थिए ।
नगरमा जम्मा दश वडा रहेका छन् । न्यून उपस्थिती रहेको कार्यक्रममा सर्वसाधारण भन्दा बढी जनप्रतिनिधिले असहमति जनाउदै आ–आफनो धारणा राखेका थिए । वडाध्यक्षलाई जानकारी नै नगराई छलफलका लागि तयार पारिएको मार्गदर्शन झारो टार्ने काम भएको वडा नम्बर ७ काअध्यक्ष विनोद कुमार पोखरेलले असहमति जनाए ।
योजना छनौटका लागि तयार पारिएको कार्यतालिका समेत नमिलेकोले तत्काल सच्याउन पोखरेलले सुझाव दिए । गत आर्थिक वर्ष ०७४।७५को मूल्याङ्कन समिक्षा नै नगरी एकलौटी गरिएको मार्गदर्शनको कुनै तुक नरहेको ४ नम्बर वडाध्यक्ष हंसधर राजवंशीले बताए । विगतको धरातललाई टेकेर सवै जनप्रतिनिधिलाई समेटेर लैजान उनले सुझाव दिए । त्यसैगरि वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्कीले मुखले फ्लाकेर समृद्धि नआउने बताए । ‘लोकसेवा पास गरेर आएका कर्मचारीले ‘ढोगसेवा’का जनप्रतिनिधिलाई वास्ता गरेनन ।’–उनले भने । जनप्रतिनिधिले नगरपालिकालाई पेवा वनाएर यो पार्टी र त्यो पार्टी भन्दै विभेद गरेको बताए । संविधानमा लेखेको कुरालाई समेत वास्ता नगरेर एकलौटी भरमा तयार पारिएको मार्गदर्शन अमान्य भएको उनले बताए । गत आर्थिक वर्ष ०७४।७५को समिक्षा नै नगरि तयार पारिएको योजना तर्जुमा ठिक नभएको वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्बाले बताए । वडामा निर्माण भइरहेका सडक समेत जानकारी नै नदिइ विभेदपूर्ण काम भइरहेको आरोप लगाए । सगरमाथा देखी झापा चोकसम्म ३२ भन्दा माथि खानेपानी सडकमा फुटीरहेपनि खानेपानी संस्थानलाइ नगरले केही नभनेको बताए । संस्थानलाइ उपभोक्ता समितिमा लैजान जरुरी रहेको उनको सुझाव थियो ।
कार्यक्रममा नगरका राजेन्द्र चापागाइ, क्यानेन्द्र लिम्बू, बावुराम कार्की, स्वर्णीका सिं,डिल्ली नेपाल लगायतले जिज्ञासा तथा सुझाव दिएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत तुलसीबहादुर श्रेष्ठले मार्गदर्शन प्रस्तुत गरेका थिए । श्रेष्ठले प्रस्तुत गरेको मार्गदर्शनमा उद्योग,व्यापार,कृषि र पर्यटनको विकास र विस्तारद्धारा नगरलाइ पूर्वी नेपाल कै आधुनिक नगरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ । पूर्वी क्षेत्रको व्यापारिक द्धार शान्ति,समृद्धि सहितको भद्रपुर नगरलाइ दिर्घकालिन सोच वनाइएको छ । चौथो नगर सभा घोषणाका लागि वैशाख ३० बाट शुरु भइ असार १० गते सम्मको कार्यतालिका प्रस्तुत गरिएको छ ।