भोजपुर । जिल्ला सदरमुकाममा असिष्टेण्ट ब्युटिसियन तथा सिलाइ कटाइसम्बन्धी तीन महिने तालिम शुरु भएको छ । तालिम नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको आर्थिक सहयोगमा आइतबार एक कार्यक्रमका बीच शुरु भएको हो ।

भोजपुर नगरपालिका–७ डाँडागाउँस्थित भोजपुर हर्बल ब्युटीपार्लर एण्ड ट्रेनिङ सेण्टरमा शुरु भएको तालिममा हेल्भेटास नेपालले प्राविधिक सहयोग रहेको छ । तालिमको उद्घाटन मल्टीस्किल एण्ड इन्भाइरोन्मेन्ट प्रालिका को–अर्डिनेटर विकास खनालको अध्यक्षता तथा भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेको प्रमुख आतिथ्यमा भएको आयोजकले जनाएको छ । तालिमको उद्घाटन गर्दै मेयर आलेले पछिल्लो समय भोजपुरमा पनि ब्युटिसियन व्यवसाय गर्ने महिलाहरू आत्मनिर्भर बन्दै गएको बताए ।

सीपको सदुपयोग गर्नसके विदेश जानु नपर्ने भन्दै उनले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । उनले भने, ‘विष बिनाको सर्प र सीप बिनाको मान्छे काम लाग्दैन, काम लाग्ने हुनका लागि अनिवार्य कुनै न कुनै सीप सिक्नु पर्छ, त्यसका लागि सरकारले रोजगारमूलक तालिमको आयोजना गर्नु आवश्यक छ ।’ कार्यक्रममा मेयर आलेले सीप सिकेका सहभागीलाई तालिमपछि नगरपालिकाले स्वरोजगार बनाउन पहल गर्ने आश्वासन दिए । तालिममा ४० जनाको सहभागिता रहेको छ ।

जसमध्ये २० जना असिष्टेण्ट ब्युटिसियन र २० जना सिलाइ कटाइ तालिममा सहभागी भएका छन् । उनीहरूलाई वैशाख २६ गते छनौट गरिएको थियो । तालिमपछि सीप सिकेकाहरूले अनिवार्य रूपमा व्यवसाय गर्न प्रोत्साहन गरिने प्रालिका को–अर्डिनेटर विकास खनालले बताए ।