काँकडभिट्टा/ नेपालमा दलित समुदायका लागि बनेका कानूनहरू व्यवहारिकरूपमा कार्यान्वयन हुन नसकेको दलितका अगुवाले बताएका छन् ।
आइतबार मेचीनगर नगरपालिका पदयात्रा समापन समारोह व्यवस्थापन समितिको आयोजनामा महाकाली–मेची पदयात्रा अभियान सम्मान तथा समापन कार्यक्रममा बोल्दै नेपाल दलित सङ्घका अध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य मीन विश्वकर्माले नेपालको संविधानमा छुवाछुत अन्त्य भयो तर गैर दलित नेपालीहरूको व्यवहारमा कार्यान्वयन हुन नसकेको बताए । उनका अनुसार नेपाल सरकार संविधानमा छुवाछुत अन्त्य अफल भयो तर व्यवहारमा असफल भएको बताए । त्यसैगरी शहरीक्षेत्रमा केही मात्रामा छुवाछुतप्रथा अन्त्य भए पनि पहाडी र हिमाली जिल्लामा पहिलाकै जस्तो छुवाछुत कायम रहेको र छुवाछुत अन्त्यका लागि गैरदलित समुदायले पनि सकारत्मक भूमिका खेल्नुपर्ने विश्वकर्माले बताए ।
कार्यक्रममा बोल्दै मुक्ति समाजका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री जितु गौतम, दलित अधिकारकर्मी बुद्धिबहादुर नेपाली, दलित अधिकारकर्मी गणेश विश्वकर्मा, दलित महिला अगुवा दुर्गा सोप, नेकपाका केन्द्रीय सदस्य तिलक परियारलगायतले छुवाछुत अन्त्य नभएसम्म नेपालमा सुखी नेपाली समृद्ध नेपाल नारा असफल हुने बताए । त्यस्तै नेपालमा विकासमो परिवर्तन हुनका लागि नेपालको दलितको अधिकारलाई व्यवहारिक र कार्यान्वयन गर्नु जरुरी रहेको उनीहरूको भनाइ थियो ।
जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेल, मेचीनगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, छुवाछुत अन्त्य अभियानका पैदलयात्री अशोक दर्नाल, होमराज आचार्य, रीता परियारलगायतले कार्यक्रममा बोलेका थिए । सोही अवसरमा पैदलयात्री तीनैजनालाई विशेष सम्मान गरिएको थियो । उनीहरूले छुवाछुत अन्त्य गर्नका लागि महाकाली–मेची अभियान सञ्चालन गरेका थिए । उनीहरूले ५४ दिन लगाएर यात्रा पूरा गरेका हुन् । महाकालीबाट १३ सय १८ किलोमिटर पैदल दूरी पार गरेर काँकडभिट्टा आइपुगेका उनीहरूलाई मेचीनगरपालिकाले सम्मान गरेको हो ।
समितिका संयोजक टीकाराम मङ्ग्रातीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यपालिका सदस्य कृष्ण कनालले गरेका थिए भने सञ्चालन दलित उत्थान समन्वय समिति मेचीनगरका अध्यक्ष धु्रव कनालले गरेका थिए ।
































