धरान । धरानलाई कर्मथलो बनाउँदै आएका सङ्खुवासभाबासीहरूले शनिबार धरानमा छलफल साथै परिचयात्मक भेटघाट गरेका छन् ।

धरानमा करिब ६ हजारको हाराहारीमा सङ्खुवासभालीहरू रहेको दाबी समाजको छ । तर, हाल सम्पर्कमा ५ सय जना आएको धरान सङ्खुवासभा सरोकार समाजका उपाध्यक्ष अञ्जना राईले बताइन् । सङ्खुवासभाबाट धरान आएकाहरूबीच चिनजान गर्ने उद्देश्यले छलफल राखेको उनले बताइन् । यसक्रममा आर्थिक अवस्था न्यून भएका सङ्खुवासभा सभापोखरी गाउँपालिकाका बीरप्रसाद लिम्बूलाई समाजले ह्वीलचियर वितरण गरेको छ ।

साथै, मृगौला रोगबाट पीडित ७ वर्षीय बालक सागर बयलकोटीलाई पनि आर्थिक सहयोग गरिएको समाजका सचिव इन्दु योञ्जनले बताए । बयलकोटी हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । समाजले यसअघि २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

कार्यक्रममा सङ्खुवासभाबाट प्रतिनिधित्व गरेका प्रदेश तथा प्रतिनिधिसभाका सांसद्, प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, सांसद् पदमकुमारी गुरुङ, पूर्व खानेपानी राज्यमन्त्री दीपक खड्कालगायतको उपस्थिति थियो । समाजले सङ्खुवासभाबासीको हकहित साथै समाजिक कार्यमा संलग्न हुने अध्यक्ष मिङ्मा भोटेले जानकारी दिए ।