धरान / साढे ४ वर्षदेखि मोटर न्यरोड डिजिट नामक रोगबाट ग्रसित ४५ वर्षीय संचारकर्मी सुरज श्रेष्ठको आज राति २ः१५ बजेतिर उपचारका क्रममा निधन भएको छ ।

धरानका स्थायीवासी ब्लाष्ट टाइम्स दैनिकका स्थापनाकालका सहसम्पादक श्रेष्ठलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो ।उनको स्वास्थ्यमा थप समस्या आएपछि यही बैशाख १६ गते काठमाडौंको ओम अस्पतालमा भर्ना गरिएको थियो । पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

सञ्चार क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएका श्रेष्ठका एक छोरा, एक छोरी र श्रीमती छन् । उनी शुरुमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।

धरानबाट प्रकाशित ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए । कार्यक्रम संयोजक हुदैं उनी स्टेसन मेनेजरको भूमिकामा थिए । चर्चित रेडियो कार्यक्रमहरु संचालन गरेर दर्शक र श्रोताको मन जितेका थिए ।

उनको प्रेरणाबाट नेपाली सांगीतिक क्षेत्रमा थुप्रै प्रतिभाहरुको जन्मिएको धरानका रङग पत्रकार शौरव श्रेष्ठले बताए । उनको आज ३ बजे पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।