धरान/ धरान–१५ स्थित बमधारा खानेपानीको मुहान संरक्षणमा स्थानीय जुटेका छन् ।
बमधारा खानेपानी संरक्षण समितिको अगुवाइमा मुहान संरक्षणका लागि तारजाली लगाउने कार्यको प्रारम्भ गरिएको छ । मुहान संरक्षणका लागि धरान–१५ का वडाध्यक्ष नरेश इवारामले घेराबाराको शिलान्यास गरे । मुहान संरक्षण नहुँदा जथाभावी प्रयोग हुँदै आएको समितिका अध्यक्ष राजेन्द्र दर्नालले बताए ।
वडाध्यक्ष इवारामले प्राकृतिक रूपमा रहेका यस्ता मुहानको संरक्षणमा वडाले पनि लगानी गर्ने बताए । यो मुहानबाट विगत ३० वर्षदेखि बस्तीबासीले पानी पिउँदै आइरहेका छन् । बमधाराबाट सुवेदी टोलका झण्डै एकसय घर परिवारले उपभोग गर्दै आइरहेका छन् । तारजालीका लागि वडा कार्यालयबाट ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ भने स्थानीय उपभोक्ताले १ लाख रुपैयाँ स्रोत जुटाउनुपर्ने अध्यक्ष दर्नालले बताए ।