बिर्तामोड । झापाको खुदुनाबारीमा निर्माण गरिएको किरात महागुरु फाल्गुनन्दको सालिक भोलि(मङ्गलबार) अनावरण गरिने भएको छ । सालिक निर्माण उपभोक्ता समितिले आइतबार पत्रकार सम्मेलन गरी महागुरुको ८९ औँ समाज सुधार दिवसको अवसर पारेर सालिक अनावरण गर्न लागेको जानकारी दिएको छ ।
अर्जुनधारा नगरपालिकाको २ र ३ नम्बर वडाको सीमामा पर्ने खुदुनाबारी चोकमा समितिले फाल्गुनन्दको साढे सातफिट अग्लो सालिक राखेको छ । १६ औँ राष्ट्रिय विभूतिसमेत रहेका महागुरु फाल्गुनन्दको सालिक एक समारोहका बीच किरात गुरु आत्मानन्द लिङ्देन र प्रदेश नम्बर १ का प्रमुख प्रा.डा. गोविन्द सुब्बाले अनावरण गर्ने कार्यक्रम रहेको समितिका सचिव खगेन्द्र लिङ्देनले जानकारी दिए ।
मूर्तिकार भक्त राईले एउटै ढुङ्गाबाट तयार पारेको उक्त सालिक ६ फिट गोलाइमा १५ फिट उचाइको रहेको बताइएको छ । मूर्ति निर्माणका लागि अर्जुनधारा नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको समितिका अध्यक्ष महेन्द्रकुमार आङ्देम्बेले बताए । मूर्तिको तौल ६ क्विण्टल रहेको छ ।
पूर्व सांसद् प्रेम गिरीले आफू प्रतिनिधिसभा सदस्य रहेको बेला साविक खुदुनाबारी गाविसले पनि महागुरु फाल्गुनन्दको सालिक निर्माण गर्ने योजना बनाएको बताए । जब नेपालीभाषी भुटानी शरणार्थीहरू खुदुनाबारीको कैदले जङ्गलमा आएर बसोबास गरी किरात धर्मको संरक्षण सम्बद्र्धनमा लागे, तबदेखि गैरकिरात धर्मावलम्बी पनि फाल्गुनन्दको सम्मानमा जागरुक भएको उनको भनाइ छ । सांस्कृतिक विविधता भएको शरणार्थी समुदाय किरात धर्मको उत्थान गर्न जुटेपछि ०५१ सालमा धुपबत्ती बालेर ‘मिङ्सो माङ्हिम’ मा पूजापाठ हुन थालेको विगत सुनाउँदै उनले त्यही कार्यबाट किरात धर्ममा परिवर्तन आएको अनुभव सुनाए ।
किरात धार्मिकस्थलको रूपमा विकसित भइरहेको त्यस अवस्थामा माङ्सेबुङलाई लक्षित गरी खुदुनाबारीबाटै ‘सर्किट’ बनाउन शुरु गरेपछि महागुरु फाल्गुनन्दको सालिक स्थापना गर्ने अवधारणा अघि बढेको उनले बताए । नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले नगरलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरेर लैजाने रणनीतिलाई महागुरु फाल्गुनन्दको सालिकले थप मद्दत पुर्याएको बताइन् । यस क्षेत्रमा धार्मिक पर्यटनका निम्ति विभिन्न योजना सञ्चालन भइरहेको बताउँदै उनले स्थानीयले गरेको कार्यको प्रशंसा गरिन् ।
खुदुनाबारी क्षेत्रमै फाल्गुनन्द मार्ग, फाल्गुनन्द स्मृति पोखरी र फाल्गुनन्द शान्ति वनबाटिका निर्माण भइरहेका छन् । करिब १२ लाख ७५ हजारको लागतमा सालिक स्थापना गर्न सकिने अनुमान गरिएको कार्यक्रममा झापा, इलाम, पाँचथरलगायतका किरात धर्मावलम्बीहरूको सहभागिता रहने बताइएको छ । समितिका अध्यक्ष महेन्द्रकुमार आङ्देम्बे, ३ नम्बर वडाध्यक्ष जीवन भण्डारी, स्थानीय अगुवा नरेन्द्र इङ्नाम, पूर्व जनप्रतिनिधि नरबहादुर कन्दङ्वालगायतले बोलेका थिए । महागुरु फाल्गुनन्दको जन्म वि.सं. १९४२ साल कात्तिक २२ गते इलाममा भएको थियो भने प्रत्येक कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाइने गरेको छ ।
































