उदयपुर/ उदयपुरको एक गाउँमा गम्भीर प्रकृतिको अज्ञात रोग फेला परेको छ । रौतामाई गाउँपालिका–६ नामन्ताका मगर गाउँका बासिन्दाहरूमा शरीर काँप्ने अज्ञात रोग फेला परेको हो ।
आदिवासी जनजातिभित्र पर्ने मगर जातिको समाल थरमा देखापरेको अज्ञात रोग २५ वर्ष उमेर कटेपछि लाग्ने गरेको स्थानीयबासीले बताएका छन् । यस रोगले ३ जनाको ज्यानसमेत गइसकेको छ । एकै गाउँका एकै साथ ७ जना बिरामी भएपछि उपचारको लागि आइतबार जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो । ७० वर्षीय डम्बरबहादुर समाल मगर, ६४ वर्षीय तुलबहादुर समाल मगर, ६४ वर्षीया जानीमाया मगर, २९ वर्षीय बलबहादुर समाल मगर, ४० वर्षीया हीरामाया मगर, ३६ वर्षीया ललीमाया मगर र २९ वर्षीय पुष्प समाल मगरलाई एकै साथ उक्त रोगले समातेको थियो ।
समाल थरको छोरा वा छोरीमा मात्रै देखा परेको रोग बुहारी र छोरीका छोराछोरीमा भने देखा नपरेको बिरामी बलबहादुर समाल मगरले बताए । रोगको शुरुवाती लक्षणमा हात, खुट्टा काँप्ने गर्दछ । हात, खुट्टाबाट शुरु गरेको कम्पन विस्तारै पूरै शरीरभरि फैलँदै जाने र शरीर नै काँप्ने गरेको बिरामी समाल मगरले बताए ।
उक्त रोग लागेपछि पूरै शरीर काँप्ने भएकाले हिँडडुल गर्न, खाना खानदेखि सबैकुरा गर्न अरुको सहारा चाहिने गरेको बिरामी समाल मगरले बताए । धामी झाँक्री र अस्पतालले अहिलेसम्म रोगको पहिचान पनि नगरेको र बिरामी निको पनि नपारेको बिरामी समाल मगरले बताए ।
गाउँमा करिब १४ घर समाल थरका मगरहरू बसोबास गर्दै आएका छन् । अन्य मगरहरूलाई मात्रै नभई घरमै ल्याएका बुहारी र साना उमेरका कसैलाई पनि यस्ताखालको बिरामीले नभेटेको ६४ वर्षीय समाल मगरले बताए ।
यस रोगले गर्दा गाउँ समाजमा अपहेलनासमेत सहनु परेको बिरामीहरू बताउँछन् । यति बेला नै रोगले समात्छ भन्ने हुँदैन । जतिबेला र जहाँ एक्कासि काँप्न थाल्छ । काँप्न थालेपछि हात, खुट्टाले काम गर्न छाड्ने र बेहोससमेत हुने गरेको बिरामी समाल मगरले बताए ।
यस रोगले अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ । गत चैत्र २८ गते ३६ वर्षीय दुर्गबहादुर समाल मगरको ज्यान गएको थियो भने पूर्णबहादुर समाल मगर र हस्तबहादुर समाल मगरको पहिले नै मृत्यु भइसकेको बिरामी समाल मगरले बताए ।
अहिलेसम्म डाक्टरहरूले समेत रोगको पहिचान गर्न सकेका छैनन् । अनौठो खालको बिरामी देखापरेकाले रोगको पहिचान खुल्न नसकेको जिल्ला अस्पताल उदयपुरका डाक्टर अरुण मण्डलले बताए । नयाँ प्रवृत्तिको रोग भएकाले जिल्लाभन्दा ठूलो हस्पिटल विराटनगर रेफर गर्ने तयारी भइरहेको डाक्टर मण्डलले बताए । समयमै रोगको पहिचान र उपचार नगर्ने हो भने गाउँ नै ठूलो जोखिममा पर्ने देखिन्छ । यस गाउँका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।