भद्रपुर / वडाको विकासका लागि छुट्याइएको रकम आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न योजनाहरुमा मनोमानी गरेको भन्दैं झापाको केचनकवल गाउँपालिका ५ नम्बर वडाध्यक्ष महेशलाल गणेश विरुद्ध उजुरी परेको छ ।
वडा कार्यालयबाट विनियोजित बजेटका आधारमा हुने काम तथा योजनाहरूमा मनोमानी गरी विकास वजेट दुरुपयोग गरेको उनीमाथि स्थानीयले आरोप लगाएका छन् ।
वडामा रहेका अन्य दलसहित आफ्नै पार्टीका कार्यकर्ताले वडाध्यक्ष गणेश बिरूद्ध ज्ञापन पत्र समेत बुझाएका छन् । आफ्नै कार्यकर्ता विरोधमा उत्रिएपछि स्थानीय सरकारको बहुमतका साथ नेतृत्व गरिरहेको कचनकवलमा राप्रपा भित्रै हलचल मच्चिएको छ । वडाध्यक्ष गणेशविरुद्ध आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्तासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँङ्ग्रेसका कार्यकर्तालेसमेत विरोध जनाएका छन् ।

वडाध्यक्ष गणेशले आफ्ना र पार्टीका मान्छे भन्दै हरेक विकास निर्माणका काममा राख्ने गरेको, योजनाको कामहरूमा कमिशनको खेल खेलेको भन्दै राप्रपासहित नेकपा र नेपाली काँङ्ग्रेसका कार्यकर्ताहरूले वडा अध्यक्षलाई ध्यानाकर्षण गराउँदै ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन् । नेकपाका नुर मोहम्मद, नेपाली काँङ्ग्रेसका मो. नुर आलम र राप्रपाका मो. शेर आलम लगायत ३१ जनाले हस्ताक्षर गरी ज्ञापनपत्र बुझाएका छन् ।
गाउँपालिका भित्र वडा कार्यालयबाट सञ्चालित योजनाहरू सार्वजनिक गर्नु पर्ने, योजना सञ्चालन भएको उपभोक्ता तथा टोल विकास समितिको नामावली सार्वजनिक गर्नु पर्ने, खुला दिसामुक्त अभियानमा भएको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, काम सम्पन्न भएका योजनाहरूको लेखापरिक्षण हुनुपर्ने, जनताका लागी वितरण गर्नुपर्ने सामाग्री जनप्रतिनिधिका नातेदारले मात्र पाउने गरेको, उपभोक्ता समिति एकतर्फी गठन गर्ने गरेको, एक व्यक्ति एउटा समितिमा बसेपछि अन्य समितिमा राख्न नपाउने लगायतका मागहरू अघि सारेका छन् । ज्ञापनपत्रमा राखिएका मागहरू तत्काल पूरा गरी गल्ती सच्याउन दलका प्रतिनिधिहरूले वडा अध्यक्षलाई चेतावनी समेत दिएका छन् ।

आफ्नै पार्टीका वडा अध्यक्ष ज्युलाई पटक पटक वडामा भइरहेको विकास निर्माण सम्बन्धीका कामको विषयमा ध्यानाकर्षण गराउदा समेत वास्ता नगरेको शेर आलमको आरोप छ । पाटीकै कार्यकर्ताको कुरा वडा अध्यक्षले सुन्न छाडेपछि बाध्य भएर वडा कार्यालय ज्ञापनपत्र बुझाएको उनले जनाए ।

वडा कार्यालयबाट हुने गरेका हरेक कामहरूमा भ्रष्टाचार हुने गरेको काङ्ग्रेसका क्रियाशील सदस्य नुर आलमले आरोप लगाएका छन् ।
उनले कृषकलाई आउने अनुदानका सामग्री समेत वडा अध्यक्षले पारर्दिश रूपमा वितरण नगरी आफ्नै मान्छेलाई वितरण गरेको आरोप लगाए । सुनुवाइ नभए वडा कार्यालयमा तालाबन्दीसहितको आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । त्यसैगरी, नेकपा वडा अध्यक्ष नुर मोहम्मदले वडाको योजनाको बारेमा दलका प्रतिनिधिलाई जानकारी नगराउनु र घर अगाडी सञ्चालित योजनाहरू स्वयम् उपभोक्तालाइ समेत थाहा नदिनु परिपाटीले विकास भन्दा पनि भ्रष्टाचार गर्नु खेलमा जनप्रतिनिधि लागेको आरोप लगाए । यता वडा अध्यक्ष गणेशले काम गर्दै जाँदा कमीकमजोरी भएको भए आगामी दिनमा यसलाई सच्याएर लैजाने बताए ।