रङ्गेली/ बृहत् विराट क्षेत्र विकासका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभामा सांसद्हरूले नै प्रश्न उठाएका छन् ।
 
सत्तापक्षकै सांसद्समेत विधेयकको विपक्षमा खडा भएका थिए । विधेयकलाई राजधानी तोक्ने षड्यन्त्र भएको समेत सांसद्हरूले आरोप लगाए । कतिपय सांसद्हरूले विकास भएको ठाउँमा नै विकासको योजना ल्याउनु पनि युक्तिसङ्गत नभएको बताएका थिए । प्रदेश सरकारले स्पष्ट उद्देश्यबिनै ल्याएको विधेयक अहिले उसैलाई घाँडो सावित भएको छ ।
 
प्रदेश सरकार विधेयकलाई सर्वसम्मत बनाउन लागिपरेको छ । विधेयकलाई सर्वसम्मत गराउन बिहीबार मुख्यमन्त्री शेरधन राईसहित सर्वदलीय बैठक बसेको थियो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलका नेता, प्रमुख सचेतक सम्मिलित बैठकमा बृहत् विराट क्षेत्र विकास विधेयकका सम्बन्धमा छलफल भएको छ । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बृहत् विराट क्षेत्र विकाससम्बन्धी विधेयक प्रदेशसभाबाट सर्वसम्मत गराउने विषयमा छलफल भएको बताए । ‘प्रदेशको नाम र राजधानीको प्रस्ताव २१–२२ गते प्रदेश सभामा लैजाने कुरा भएको छ’ उनले भने, ‘प्रस्ताव सत्तापक्ष र प्रतिपक्ष मिलेर नै लैजाने हो कि भन्ने छलफल भयो ।’ 
 
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेतृ विष्णुमाया तुम्बाहाफेले बृहत् विराट क्षेत्र विकास विधेयकलाई सर्वसम्मत गराएर लैजाने विषयमा छलफल भएको बताइन् । उनले प्रदेशको नाम र राजधानीको विषय प्रदेशसभामै छलफल गरेर टुङ्ग्याएर जाने कुरा भएको बताइन् । सङ्घीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले सरकारले यसै अधिवेशनबाट नाम र राजधानीलाई टुङ्ग्याउने कसरत गरिरहेको बताए । 
 
नवनियुक्त सचिवको शपथ 
प्रदेश १ को प्रदेशसभा सचिवमा नवनियुक्त गोपालप्रसाद पराजुलीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त सचिव पराजुलीलाई बिहीबार सभामुख प्रदीपकुमार भण्डारीले शपथ ग्रहण गराएका थिए । वैशाख ९ गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । सङ्घीय सरकारको उपसचिव तहका पराजुली आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रूपमा कार्यरत थिए । उनको सेवाअवधि अझै ५ महिना बाँकी रहेको थियो । सङ्घीय सरकारबाट राजीनामा स्वीकृत भएपछि प्रदेश सभा सचिवालायले उनलाई शपथ ग्रहण गराएको हो । उनी प्रदेश १ को प्रदेशसभा सचिवालयमा ५ वर्षे कार्यकालको लागि नियुक्त भएका हुन् । सभामुखको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभा सचिवको नियुक्त गर्ने व्यवस्था रहेको छ । उनले बिहीबार नै पदभार सम्हालेका छन् ।
 
खेलकुद विधयेक सर्वसम्मत पारित 
बिहीबार बसेकोे प्रदेशसभा बैठकले प्रदेश खेलकुद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
 
प्रदेश १ को सामाजिक विकास मन्त्रालयले ल्याएको विधेयकमाथि सामाजिक विकास समितिमा दफावार छलफल भएको थियो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले विधयेक पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेका थिए । 
 
पथरी घटनामा काङ्ग्रेस सचेतकको चासो
नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले मोरङको पथरी र आसपासको जङ्गल  क्षेत्रका जनता ढुक्कले बस्न सक्ने अवस्था नरहेको बताएका छन् । 
 
बिहीबार प्रदेश १ को प्रदेशसभा बैठकको विशेष समयमा बोलेका उनले पथरी र आसपासको क्षेत्रमा लास भेटिने तर प्रहरीले आत्महत्या र भवितव्य भन्दै पन्छिने गरेको आरोप लगाए । उनले पथरी, कानेपोखरी आसपासका जनता निर्धक्क भएर हिड्डुल गर्न नसकि रहेको बताए । गत शुक्रबार पथरीमा भेटिएको रिना बस्नेतको लास पनि भवितव्य भन्दै प्रहरी पन्छिन खोजेको आरोप लगाए ।
 
स्थानीय जनता र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका तस्बिरले हत्या भएको देखाए पनि प्रहरीले अनुसन्धानलाई अन्तै मोडेको उनको भनाइ थियो । उनले स्थानीय जनप्रतिनिधिको प्रयासमा आन्दोलन केही दिनलाई रोकिएको भए पनि प्रहरीले सत्य–तथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुन सक्ने सचेत दिएका थिए । उनले पथरीको घटनाप्रति सरकार गम्भीर नभएको आरोप लगाए । उनले सरकारलाई गम्भीर हुन आग्रह गरे । त्यसैगरी पथरीमा डिएसपीको दरबन्दी कायम गर्न समेत माग गरे ।