पथरीशनिश्चरे/ मोरङ्गको पथरीशनिश्चरेमा एक २९ वर्षीया व्यवसायी महिलाको शव रहस्यमय अवस्थामा फेला परेको घटनामा प्रहरी अनुसन्धान फितलो भएको भन्दै स्थानीयले प्रहरी विरुद्ध नारावाजी गरेर सोमबार दिउँसो पथरी चोकमा यातायात बन्द गराएका छन् ।

पथरी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङ हार्टको अगुवाईमा स्थानीयले रीना बस्नेतको रहस्यमय मृत्युको सत्यतथ्य पत्ता लगाउन माग गर्र्दै इलाका प्रहरी कार्यालयमा ध्यानाकर्षणपत्र बुझाउन गएका थिए । सो क्रममा प्रहरी प्रमुख कमल बजगाईंले अनुसन्धानको प्रक्रियामा रहेको र हालसम्म यकिन गर्ने तथ्य फेला नपरेको जवाफ दिएपछि स्थानीयले कार्यालय परिसरमै नारावाजी गरेका थिए ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा महिला जनप्रतिनिधि समेत प्रहरी कार्यालय पुगेर घटनाको अनुसन्धान प्रगति बारे जानकारी लिएको थियो । त्यसमा स्थानीय महिलाहरुको उल्लेख्य उपस्थिती रहेको थियो । प्रहरीले प्राविधिक कुरा मात्र बोलेर चित्तवुझ्दो जवाफ नदिइ अनुसन्धान प्रक्रियामा सक्रियता नदेखाएको आरोप लगाउँदै त्यहाँबाट निस्केको स्थानीयको समूहले जाँते मोडमा आएर अपरान्ह १२ः४५ देखि यातायात अवरुद्ध गर्दै प्रहरी प्रशासन विरुद्ध नारावाजी गरिरहेका छन् ।

वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत, लायन्स क्लब अफ पथरीका उपाध्यक्ष टीकाप्रसाद दंगाल र लायन्स क्लब अफ पथरी योङ हार्टका अध्यक्ष केदार बोहोराले नगर प्रमुख दिलिपकुमार राईलाई शान्ति सुरक्षा मजबुत बनाउने पहलको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । नगर प्रमुख राईले पछिल्लो रीना वस्नेत प्रकरण सहितका आपराधिक श्रृंखलाबाट चिन्तित हुँदै घटनाहरुको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्ने प्रक्रियामा नगरपालिकाले प्रहरी प्रशासनसँग सहकार्य गरिरहेको जवाफ दिएका छन् । त्यसपछि स्थानीयको समूह प्रहरी कार्यालय पुगेको थियो । स्थानीयले आपराधिक घटना बढेकाले नगरमा त्रास सृजना भएको धारणा राख्दै प्रहरीको सक्रियता माग गरेका छन् ।

पथरीशनिश्चरे १ त्रीवेणी चोक साझा लाइनमा डेरा वस्ने एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर रीना (रुपा) बस्नेतको रहस्यमय मृत्यु भएको थियो । शुक्रवार राती पथरीको प्रस्तावित रंगशालामा सञ्चालन भएको कन्सर्ट हेरेर १३ वर्षीय छोरा साइमनसँग ११ बजे कोठा फर्किएकी वस्नेत शनिवार विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी थिइन् । टाउकोमा चोट लागेको अवस्थामा घोप्टो परेको शव विहान स्थानीयले सडकमा देखेपछि प्रहरीलाई खवर गरेका थिए । शरीरमा कुनै लुगा नभएको अवस्थाको शवलाई स्थानीयले लुगाले ढाकिदिएका थिए ।

प्रहरीले हत्या नै भएको कुराको प्रमाण फेला नपरिसकेको बताएपनि स्थानीय तथा आफन्तले उनको नियोजित हत्या गरेको दावी गरेका छन् । रीनाका जेठाजु दुर्गावहादुर वस्नेत भन्छन् ‘रीनाको टाउकाको पछिल्लो भागमा रड या केही वस्तुले गहिरो रुपमा छेडेको देखिएको र निर्वस्त्र सडकमा भेटिएकाले हत्या नै भन्ने सहजै बुझिन्छ ।’ प्रेमी सुन्दरहरैंचा घर भएका उनका प्रेमीले राती अवरेसम्म रीनालाई फोन गरेको र रीना दिउँसैदेखि तनावमा रहेको खुल्न आएको छ । उनको छोरा साइमनले रीनाले वियर खाएर सुतेको बताएका छन् ।

दीपाको शव पोष्टमार्टमका लागि धरान लगिएको भएपनि रिपोर्ट आउन केही दिन लाग्छ । दीपाका श्रीमान सन्तोस वस्नेत वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका छन् ।

नगरको पथरी बजारमा सञ्चालित सिक्का बारमा आएका पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको पनि यस्तै प्रकारको रहस्यमय मृत्यु भएको थियो । तामाङको पनि टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा गत ०७५ फागुन १६ गते राती सडकमा शव फेला परेको थियो ।

rinaaaaa