भद्रपुर । झापाको चारकोशे जङ्गलमा विद्युतीय तारबार गरिने भएको छ । हल्दीबारी र कचनकवल गाउँपालिकमा रहेको जलथलको चारकोशे जङ्गलमा विद्युतीय तारबार गरिने भएको हो ।
केहीवर्ष यताबाट झापाको दक्षिणी क्षेत्रमा जङ्गली हात्तीले धनजनको क्षति पु¥याएर स्थानीयलाई त्रसित बनाएपछि स्थानीय सरकारले चासो देखाएको थियो ।

जिल्लाका महेशपुर, जलथल, पृथ्वीनगर, वनियानी, केचना, भद्रपुर, गरामनी, दुहागढी, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, शिवसताक्षी, तोपगाछीलगायतका स्थान हात्ती प्रभावित क्षेत्र भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । नेपाल सरकारको प्रकृति संरक्षण कोष अन्तर्गत ६ करोड रुपैयाँको लागतमा जलथल चारकोशे जङ्गल क्षेत्रको करिब ४५ किलोमिटर क्षेत्रमा तारबार गर्न लागिएको हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले जानकारी दिए ।

हात्तीको उपद्रोबाट आक्रान्त दक्षिणी झापावासीले अब राहत पाउने उनले दाबी गरेका छन् । हल्दीबारी गाउँपालिका–३, ४, ५ र कचनकवल गाउँपालिका–१, ६ र ७ मा विद्युतीय तारबार गरिने उनले जनकारी दिए । बर्सेनी हुँदै आएको जनधनको क्षति न्यूनीकरण हुने अपेक्षा राखिएको उनको भनाइ छ ।

हात्ती नियन्त्रणका लागि पहिलो चरणमा विद्युतीय तारबार गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए । तारबार निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न गरिसक्नु पर्ने उनले जनाए । मङ्गलबारबाट तारबारका लागि मार्किङ गर्ने काम शुरु भइसकेको उनले जानकारी दिए ।

भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्नका लागि यसअघि झापाको उत्तरी जिर्मले, दूधे खोलादेखि झापाको मेचीनगरपालिका स्थित मेचीनदी किनारसम्म १८ किलोमिटरमा जडान गरिसकिएको छ । तारबारलाई विश्व बैङ्कले दिएको भन्सार शुल्कसहित १ करोड ५० लाखको लागतमा निर्माण सम्पन्न गरिएको थियो । सो क्षेत्रमा तारबार लगाइएपछि हात्तीले दक्षिणी क्षेत्रमा उपद्रो मच्चाउन थालेको विभिन्न घटनाले पुष्टि गरिसकेको छ । बार निर्माण नभएसम्म दैनिक ६० देखि १ सय २० को हाराहारीमा बाहुनडाँगीको पूरै क्षेत्रमा आतङ्कं मच्चाउँदै आएका थिए । भारतको खर्साङ डिभिजन वन अन्तर्गत कोलाबारी वन हुँदै बाहुनडाँगीको विभिन्न गौंडाबाट आउने गरेका थिए ।

विद्युतीय तारबार लगाइसकेपछि हात्ती पीडित जनताले राहत महसुस गरेको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरि उप्रेतीले बताए । हात्तीको समूह पूरै रोकिएको छ भने छिटफुट रूपमा हात्ती छिरे पनि खासै क्षति नपु¥याएको उनले जनाए । तारबारलाई समय–समयमा मर्मत तथा व्यवस्थापन गर्नका लागि यो वर्ष प्रदेश सरकारले २५ लाख रुपैयाँ निकासा गरी काम गर्र्दै आइरहेको उनले जनाए । बाहुनडाँगीमा लगाइएको तारबार प्रभावकारी देखिएको उनले दाबी गरे ।

हालसम्म हात्तीका कारण ३८ जनाको ज्यान गइसकेको छ भने १० ओटा हात्ती मरिसकेका छन् । आठ वर्षको अवधिमा २ हजार ५९ जनालाई तीन करोड ५४ लाख ९६ हजार २ सय ४५ रकम राहत वितरण गरिसकिएको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले जनाए । जसअन्तर्गत घरगोठ र अन्नबालीमा १ करोड ९८ लाख, घाइते उपचारमा २२ लाख ७२ हजार ४ सय ७४ रुपैयाँ र मृतकलाई १ करोड ३३ लाख ५० हजार प्रदान गरिएको घिमिरेको भनाइ छ ।