विराटनगर। धार्मिक कुराकानी गरेरे लट्याएपछि ‘टुना–मुना’ (तन्त्र मन्त्र) गरेर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
टुना मुना लगाएर लुटपाट गर्ने इटहरी उपमहानगरपालिका – १७ का २९ वर्षीय महमद अली र उनकी २२ वर्षीय श्रीमति हजरा खातुनलाई विराटनगर – ४ बरगाछीचौकबाट जिल्ला प्रहरी कार्यालय मोरङले विशेष प्रहरी परिचालन गरि पक्राउ गरेको हो । उनीहरू श्रिमान श्रीमति हुन् ।
प्रहरीको अनुसन्धानबाट लामो समयदेखि यसरी लुटपाट धन्दामा संलग्न भएको देखिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । टुना मुना गरी लुटपाट गरेको उजुरी मोरङ प्रहरीमा आएपछि दम्पतिलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
यसरी लुटेका थिए यी दम्पतीले
‘यी दम्पती गाउँ– गाउँमा पुग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो,’ डिएपी श्रेष्ठले भने, ‘हुने खाने र सोझासिधा मान्छेसँग गफगाफ गर्दै सुरूमा धार्मिक कुराकानी गर्ने, त्यसपछि टुना– मुना लगाएर लट्याउँदै उनीहरूको साथमा भएको रकम तथा गरगहना लुटपाटन गर्ने गरेको देखियो ।’
पक्राउ परेका दम्पतीले मोरङको लेटाङ्ग नगरपालिका ५ का ४० वर्षिय सुनिता लिम्बुको नगद ५ हजार र गरगहना गरी दुई लाख रूपैयाँ लुटपाट गरेको डिएसपी श्रेष्ठले बताए । ‘टुना मुना लगाए लुटपाट गर्ने गिरोह नै रहेको अनुसन्धानबाट देखिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अहिले दम्पती पक्राउ परेका छन् ।
अन्य फरार छन् ।’ फरार भएकाहरूको पनि प्रहरीले खोजी कार्य तिव्र बनाएको उनले बताए ।
पक्राउ परेका दम्पतीलाई मुलुकी फौजदारीकार्यविधि(संहिता) ऐन २०७४ बमोजिम अनुसार जिल्ला अदालत मोरङबाट म्यत थप गरि अनुसन्धान भइरहेको छ ।