भद्रपुर/  तस्करीमा संलग्न सवारी साधनसहित ५ लाख रुपैयाँ मूल्य बराबरको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । 
 
गण २ झापाबाट खटिएको प्रहरी गस्ती टोलीले झापाको दमक र भद्रपुर नगरपालिका क्षेत्रबाट विभिन्न प्रकारका सामग्री बरामद गरेको जनाएको छ । भारतको डिगल बैङ्कबाट मे १ ह ६५६४ नम्बरको टेम्पोमा राखेर ल्याउँदै गरेको अवस्थामा दमक ८ बाट सोमबार बिहान सामान बरामद गरिएको डिएसपी ओजिस ओलीले जनाए ।
 
शङ्का लागि चेकजाँच गर्दा टेम्पोमा रहेको विभिन्न प्रकारका १० पोका कपडा र भद्रपुरबाट ९७ किलो भारतीय दुध पाउडर, अमूल नामको ३० किलो घिउ, दुई बोरा मोटरपार्ट्स, ७६ किलो चियापत्ती, अमुल वटरलगायतका सामान फेला परेकाले अवैध ठहराइ टेम्पोसहित सामान नियन्त्रणमा लिएको डिएसपी ओलीको भनाइ छ । 
 
सामान र टेम्पोको अनुमानित ४ लाख ९१ हजार दुई सय १२ रुपैयाँ मूल्य कायम गरिएको उनले जानकारी दिए । बरामद सामान र टेम्पोलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । बरामद सामग्रीको मूल्य भन्सारले कायम गरेको उनले जानकारी दिए ।