विराटनगर/अपराध अनुसन्धानमा सम्वेदनशीलता नदेखाएको पाइएपछि  इलाका प्रहरी कार्यालय सिजुवाका प्रमुख इन्स्पेक्टर मानबहादुर श्रेष्ठ कारवाही स्वरूप मोरङ प्रहरीमा तानिएका छन् ।
 
श्रेष्ठले आफनो मातहतमा पर्ने प्रहरी कर्मचारी परिचालन र अनुसन्धानमा सम्वेदनशिलता नदेखाएको पाइएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीका अनुसार श्रेष्ठको ठाउँमा वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का इन्स्पेक्टर रामचन्द्र साहलाई पठाएको जानकारी दिए ।
 
साहले अहिले इप्रका सिजुवाको इञ्चार्ज भएर जिम्मेवारी सम्हाल्दै आएका छन् । इप्रका सिजुवा अन्तर्गत ६ वटा प्रहरी चौकी पर्दछ । यी प्रहरी चौकीमा पनि प्रहरी कर्मचारी परिचालनमा श्रेष्ठले लापरवाही गरेको उनीमाथि आरोप लागेको छ । श्रेष्ठ इप्रका सिजुवा करिब ९ महिना बसेका थिए । प्रहरी स्रोतका अनुसार श्रेष्ठले पछिल्लो समय ‘डकैती’ मुद्दामा लापरवाही तरिकाले अनुसन्धान गर्दा एसपी केसीले उनलाई जिल्ला तानेका हुन् । 
 
यसअघि पनि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी केसीले आफू मातहत रहेको प्रहरी कार्यालयमा छड्के अनुगमनमा क्रममा चार जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरेका छन् । अनुगमनको क्रममा सेवाग्राहीसँग इन्धन माग्नेदेखिको ड्यूटीको समयमा मादक पदार्थ सेवन (मापसे) गर्नेसम्म प्रहरी कर्मचारीलाई कारवाही गरेका थिए । प्रहरी प्रधान कार्यालयको नीति अनुरूप पेशागत मर्यादा र आचरण विपरीत कार्य गर्ने प्रहरी जवानदेखिको असइसम्मका चार जना प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको हो ।
 
यसअघि कारवाहीमा पर्ने प्रहरी कर्मचारीको नाम गोप्य राख्ने गरेको थियो । तर, पछिल्लो समय प्रहरी प्रधान कार्यालयको नीतिअनुरूप नाम सार्वजनिक गर्न थालिएको हो । कारवाही पर्नेमा प्रहरी चौकी गछियामा कार्यरत प्रहरी हवल्दार वीरेन्द्र यादव, विराटनगर–१२ का प्रहरी चौकी बखरीका असइ सन्तोषकुमार यादव, प्रहरी चौकी आँपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र प्रहरी जवान केशव दर्जी रहेका थिए ।