विराटनगर / विराटनगर महानगरपालिको क्षेत्रको विकास निमार्ण कामसँगै धमाधम बिजुलीका पोल सार्ने र तार मिलाउने काम भईरहेको छ । सडकको विस्तारसँगै विचमा भएका विजुलीका पोलहरू सार्नको लागि ठेकेदार कम्पनीले कामदारको सुरक्षाको लागि विशेष ध्यान नदिदा उनीहरू जोखिम मोलेर काम गर्ने गरेको पाइएको छ ।
ठेक्का पाएको कम्पनीले सुरक्षित मापदण्ड प्रयोग नगर्दा कामदारहरूले झुण्डिएर गरिने कामले कामदारहरू असुरक्षित बनेका हुन् । असुरक्षित तरिकाले काम गर्ने क्रममा मंगलबार एक कामदारको ज्यान गएको छ । विराटनगरस्थित जिल्ला सरकारी वकिल कार्यालय अगाडी निर्माणाधिन सडक नजिकैको पोलमा करेन्ट लागेर एक जना कामदारको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।
पर्सांको सखुवापर्सेनी गाउँपालिका – १ का २२ वर्षीय भोजराज दुलालको करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । करेन्ट लागेपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार गर्ने क्रममा दुलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । करेन्ट लागेर मृत्यु हुने दुलाल आशिष कन्ष्ट्रक्सनको पेटी ठेकेदार कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
विराटनगर क्षेत्रमा बिजुलीको पोल सार्ने काम जोन हेङ्ग कन्टक्ससन ग्रुपले पाएको छ । सो गु्रपमार्फत विराटनगरको विभिन्न निमार्ण कम्पनीलाई ठेग्गा दिएका छन् ।
बिजुलीको पोल सार्ने ठेक्का लिएको आशिष निर्माण सेवाले लगाएको पेटी ठेकेदारले बिजुलीको पोल सार्दा करेन्ट लागेर उनको ज्यान गएको हो ।
आशिष निर्माण सेवाका कर्मचारी नितेश हुमागाईँका अनुसार जेनेरेटरको करेन्ट ब्याक भई आएर दुलाललाई करेन्ट लागेको बताए । दुलाल बिगत १ बर्ष देखि यसरी बिजुलीको पोल सार्ने र तार लगाउने कार्यमा आबद्ध रहँदै आएका थिए । यो सहित बिराटनगरमा पोल सार्ने क्रममा करेन्ट लागेर २ जनाको ज्यान गईसकेको छ ।
यहाँ बिजुलीका पोलमा काम गर्ने कामदारहरुले हातमा ग्लोब नलाइ र केही ठाउँमा हेल्मेट लगाएको भएपनि जुत्ता र ग्वोब समेत नहुँदा कामदार असुरक्षित रुपमा काम गरेको स्थानीय बताउँछन् । सामान्य मापदण्ड समेत ठेकेदार कम्पनीले पुरा नगरी काममा लगाउँदा कामदारहरू असुरक्षित भएर काम गर्नु परेको छ ।
नेपाल विद्युत प्राधिकरणका विराटनगर प्रमुख राजिवकुमार सिंहले सुरक्षाको मापदण्ड नअपनाउने ठेकेदार कम्पनीलाई कार्वाही गरिने बताए । ‘निमार्ण कम्पनीलाई पटक–पटक सुरक्षा मापदण्डमा रहेर काम गर्न कर्मचारी परिचालन गर्न भनिएको छ,’ उनले भने, ‘अहिले अटेर गर्दै आएको छ । यस विषयमा विराटनगर महानगरपालिकालाई पनि जानकारी गराएको छ ।’