धरान । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले रोजगारीको अभावमा युवाहरू विदेश गइरहेकाले उनीहरूलाई उत्पादनसँग जोड्न सके मात्र राष्ट्र समृद्ध हुने बताएका छन् ।
सोमबार सुनसरी उद्योग वाणिज्य सङ्घको ३७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै भण्डारीले व्यापार घाटा रोक्न नसके मुलुकको अर्थतन्त्र सङ्कटमा पर्ने बताए ।

उनले भने, ‘ देशमै उपलब्ध स्रोत, साधनको प्रयोग र युवाशक्तिको परिश्रमले मात्र राष्ट्र समृद्ध हुन सक्छ ।’ कार्यक्रममा बोल्दै मोरङ उद्योग सङ्गठनका अध्यक्ष भीम घिमिरेले व्यापारीहरू र बैङ्कहरूलाई फरक व्यवहार गर्ने गरेको आरोप लगाए । उनले बैङ्कहरूले महँगो व्याज असुल्दा पनि वैधानिकता दिएको तर व्यापारीलाई भने ‘कालाबजारी’ का रूपमा हेर्ने गरेको बताए । सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक ताम्राकारले धरानमा खानेपानीको समस्याका कारण उद्योग व्यवसाय फस्टाउन नसकेको बताए ।

उनले भने, ‘सङ्घले पनि पानीका लागि धेरै पहल गर्यो, अहिले टङ्कीमा पानी आयो तर धारामा आएन ।’ सङ्घका अध्यक्ष राजेन्द्र साहले आफ्नो कार्यकालमा सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरे । सङ्घको नयाँ निर्वाचन जेठ २७ का लागि तोकिएको छ । निर्वाचनका लागि डा.राजेन्द्र शर्माको संयोजकत्वमा, शिव भण्डारी र शङ्करमान श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति समेत गठन भइसकेको सङ्घका महासचिव शिवराज श्रेष्ठले बताए ।

सोमबारको वार्षिक साधारणसभाका अन्य कार्यक्रम सम्पन्न भए पनि गणपूरक सङ्ख्या नपुग्दा सङ्घका महासचिव र कोषाध्यक्षले प्रतिवेदन भने प्रस्तुत गर्न पाएनन् । ३ सय ७ सदस्य नवीकरण भएकोमा जम्मा ८२ जना मात्र उपस्थित भएपछि मङ्गलबारसम्मका लागि बाँकी कार्यक्रम स्थगित गरिएको हो ।