काँकडभिट्टा/ झापाको बुद्धशान्ति गाँउपालिका–१ का  ३२ वर्षीय उमेश उप्रेती फर्निचर व्यवसायमा  सफल भएका छन् ।
 
बुद्धशान्ति गाउँपालिका बुधबारेस्थित फर्निचर वल्र्डका सञ्चालक उनले आफ्नो जीवनको महत्वपूर्ण काम फर्निचर व्यवसाय बताएका छन् । २०७३ सालदेखि उनले  फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका छन् । उप्रेतीले शुरुमा २५ लाखबाट शुरु गरेको फर्निचर वल्र्ड अहिले १ करोड ५० लाखभन्दा बढीको  लगानीमा  फर्निचर वल्र्ड सञ्चालन गर्न सफल भएको उप्रेती बताउँछन् । उप्रेती भन्छन्, ‘कक्षा  १२ पढ्दापढ्दै वैदेशिक रोजगारीको लागि मलेसिया गएको थिएँ, तर  भनेजस्तो  राम्रो कम्पनी परेनछ,  ६ महिनापछि म नेपाल आएको  हुँ ।’
 
नेपाल आएर १२ कक्षा पास गरिसकेपछि फेरि रोजगारीका  लागि कतार गएर ५ वर्ष काम  गरेर कमाएको पैसाले नेपाल आएर आफूले होटल व्यवसाय सञ्चालन गरेको उप्रेतीले बताए । पछिल्लो समय बुधबारे बजार विस्तारै शहरको रूपमा विकास हुँदै गयो तर आधुनिक तरिकाको फर्निचर बुधबारे बजारमा नभएको कारण आफूले सञ्चालन गर्दै  गरेको होटल बिक्री गरेर आफू फर्निचर व्यवसायमा लागेको उनको भनाइ छ ।
 
‘यहाँका मान्छे  घरमा सजावटका आधुनिक फर्निचरका सामानहरू लिनका लागि बिर्तामोड, धुलाबारी काँकडभिट्टा जानुपर्ने बाध्यता बुधबारेबासीमा रहेको छ । त्यही भएर बुधबारे बजारमा  आधुनिक तरिकाको पहिलोचोटी फर्निचर वल्र्ड सञ्चालनमा ल्याएको हुँ’–उपे्रतीले भने । उनका अनुसार मानिसहरूले हजारौं रुपैयाँ लगाएर फर्निचर खरिद गर्छन् तर अहिलेका व्यवसायीहरूले ग्राहकलाई ढाँटेर कुहिने काठका फर्निचर बनाएर बेचिरहेका छन् । ‘सामानको कुनै पनि ग्यारेन्टी हुँदैन तर मेरो पसलमा आधुनिक ब्राण्डका ग्यारेन्टीवाला फर्निचरका सामानहरू मात्र पाइन्छ’–उप्रेतीले भने ।
 
दैनिक ५८ जना युवायुवतीलाई फर्निचरमा रोजगारी दिनका लागि आफू सफल भएको उप्रेतीको भनाइ छ । उप्रेतीले भने, ‘फर्निचरको  प्रधान कार्यालय बुधबारे बजारमा रहेको छ भने कारखाना काठमाडौं छ । यसलाई विस्तार गर्दै इटहरी, धाइजन, दमक, उर्लाबारीमा शाखा पसल सञ्चालनमा रहेको छ, अब बिस्तारै नेपालका विभिन्न शहरमा स्थापना गर्ने उद्देश्य रहेको बताए ।
 
फर्निचरका सामानको मूल्य र कामदारको तलबको खर्च काटेर मासिक रूपमा २ लाखभन्दा बढी आम्दानी गर्ने सफल भएको उनको  बताए । आफू सफल फर्निचर व्यवसायी बन्नका लागि श्रीमती अम्विका उप्रेतीको साथ र सहयोग रहेको उप्रेतीले बताए ।