पथरी/ मोरङको पथरीशनिश्चरे–१, मा रहेको पथरी बजारमा विभिन्न रोगको श्रोतको रुपमा रहेको ढल पैनीमा सुनाखरी युवा क्लवले सरसफाई कार्यक्रमको आयोजना गरेको छ ।

शनिबार नगरको मुख्य सरह(सदरमुकाम)को रुपमा रहेको पथरी बजार नगरपालिकाको फोहोर फाल्ने ट्याक्टर व्यवस्था भएपनि फोहोर मैला पैनीमै फाल्ने संस्कारको नरोकिएपछि खुनाखरी युवा क्लवले पैनी सफाइ कार्यक्रम राखेको हो । बजार हुदै गएको उक्त पुरानो पैनीको सरसफाई गरेको हो । पैनीको पूर्व र पश्चिम किनारमा आठ सयभन्दा बढी घरहरु रहेको छ । उक्त घरहरुमा निस्केको फोहर मैला पैनीमै फाल्ने चलनको अन्त्य अहिले पनि भएको छैन ।

क्लवको आव्हानमा ६० भन्दा बढी युवाहरुले करिव ३ घण्टा लगाएर पैनी सफाइ गरेका छन् । सरसफाइको क्रममा महिलाले महिनावारी हुँदा प्रयोग भएको प्याड, नानीहरुलाई लगाइदिने प्याम्र्पस, प्लाष्टिक, थोत्रो जुत्ता, बोराहरु, पुरानो कार्टन भेटिएको सुनाखरी युवा क्लवका अध्यक्ष मिलन राईले बताए । नगरपालिका भइसक्दा पनि बिभिन्न घरहरुले शौचालयको ढल सिधै पैनीमा जोडिएको, घना बस्तीमा बंगुर फाल्ने क्रम नरोकिएको क्लवका अध्यक्ष राईले बताए ।

नगरपालिकाको विकास भइसक्दा पनि बजारमा दुर्गन्ध रहनु दुःख लाग्दो बिषय भएको क्लवका सचिव मनि लिम्बूले बताए । पैनी लगायतको पथरी बजार सरसफाइमा नगरपालिका र जनप्रतिनिधिहरुले विशेष ध्यान दिनुपर्ने सचिव लिम्बूको भनाइ छ । नगरपालिकाकै मुख्य केन्द्रको रुपमा रहेको पथरी पैनी आसपासका मानिसहरुले अझै पनि दिसा सिधै पैनीमा लगाएर पथरीकै बेइजत भइरहेको क्लवका पूर्व अध्यक्ष उपेन्द्र लिम्बूले बताए । मानिस र बंगुरको दिशा पैनीमा लागउने, छोरीचेलीले प्रयोग गरेको प्याड र नानीहरुको प्याम्पस सिधैं पैनीमा फाल्ने कार्यले ‘दिसा गर्नेलाई भन्दा देख्नेलाई लाज’ भन्ने उखान चरितार्थ भएको स्थानीय युवा टेकिन लिम्बूले बताए ।

सरसफाइ अभियानमा वडा नम्बर १ का अध्यक्ष बाबुराम लिम्बू, स्थानीय समाजसेवी धनकुमार तामाङ, बुद्धिजिवी प्रदिपकुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई लगायतको सहभागिता रहेको थियो । यसैगरी किरात मार्ग उपभोक्ता समितिले पैनी सरसफाइको अभियान सञ्चालन गर्दै आएको छ ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईको उपस्थितिमा सफाइ अभियान थालेको उपभोक्ता समितिले पैनीमा फोहोर मैला फाल्नेलाई एक हजारसम्म जरिवाना गर्ने घोषणा गरेको छ । किरात मार्ग उपभोक्ता समितिले पैनी आसपासमा सरसफाइको लागि नगर कार्य पालिकालाई पटक पटक प्रभावकारी कदम चाल्न ज्ञापनपत्र बुझाएपनि ध्यान नदिइदा पैनीमा दुर्गन्धको अन्त्य नभएको स्थानीयबासीको गुनासो छ ।

पथरी बजारको फोहोर मैला पथरी बजारदेखि करिव डेढ किलो मिटर उत्तर जंगलमा खोलाकै किनारमा राखिएको छ । बर्षा याममा उक्त फोहर मैलाको रस खोलाहुदै पैनीबाट दुर्गन्ध सहित बजार पस्ने गरेको छ । सरसफाइमा ध्यान नदिए गर्मी सिजनमा माहामारी फैलिने सम्भावना रहेको छ ।

२०४५ सालमा खनिएको उक्त पैनीले दुई सय बिगाह खेतीमा सिंचाइ हुदै आएको छ । २३० घरधुरी उपभोक्ता रहेको पथरी पैनीबाट आउने फोहोरले हात, खुट्टा र शरीरमा घाउ खटिराहुने गरेको पैनी उपभोक्ता समितिको अध्यक्ष प्रेमबहादुर कार्कीले बताउदै आएका छन् । पैनी अतिक्रमन गरी निर्माण भएको घर, टहरा हटाउन र किसानको स्वास्थ्यमा प्रतिकुल असर पर्ने फोहोर मैला नफाल्न पटक पटक पथरीशनिश्चरे नगरपालिका लगायतको निकायहरुमा उजुरी दिदा पनि सुनुवाइ नभएको अध्यक्ष कार्कीले बताए ।