धरान । समाचारका विषयमा मोरङ मधुमल्लाका ब्लाष्ट संवाददाता केशव खड्कालाई अश्लिल शब्द प्रयोग गर्नेहरूलाई कारबाही गर्न सञ्चार क्लब नेपाल उर्लाबारीले माग गरेको छ ।

क्लबले पत्रकार खड्कामाथि गालीगलौज तथा अश्लिल आकृति प्रयोग गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन जोडदार विज्ञप्तिमार्फत् माग गरेको हो । पत्रकार खड्काले यस विषयमा प्रहरीलाई जानकारी गराइसके पनि हालसम्म सुनुवाइ नगरेकोप्रति आपत्ति जनाएको छ । पत्रकारलाई भयरहित वातावरणमा समाचार सङ्कलन गर्ने वातावरण तयार पार्न क्लबका महासचिव किशोर श्रेष्ठले आग्रह गरेका छन् ।

केही दिनअघि पत्रकार खड्काले मिक्लाजुङ गाउँपालिकाले गरेको अनुगमनका विषयमा समाचार लेखेका थिए । सोही समाचारमा केही युवाहरूले आपत्तिजनक आकृतिले गालीगलौज गरी मानसिक तनाव दिने कार्य गरेको थियो । महासचिव श्रेष्ठले खड्कामाथि गालीगलौज गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो । यसप्रति ब्लाष्ट टाइम्स दैनिकले सम्बन्धित क्षेत्रका इन्स्पेक्टर रामप्रसाद तिम्सिनालाई जानकारी गराएको थियो । इन्स्पेक्टर तिम्सिनाले तत्कालै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताएका थिए ।

ब्लाष्टका कार्यकारी सम्पादकले पक्राउ गरी कारबाही गर्न आग्रह गरे पनि प्रहरीले त्यसप्रति चासो नदिएको पाइएको छ । पत्रकार खड्काले आफूमाथि तनाव दिने युवाहरू खुलेआम घुमिरहेको र उनीहरूले उल्टो मुद्दा फिर्ता लिनका लागि धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको बताए । पत्रकार खड्कालाई फोनमा धम्कीपूर्ण भाषा प्रयोग गर्नेहरूमाथि कारबाही नगरे तत्काल ती युवाहरू विरुद्ध साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्ने तयारीमा पीडित रहेको छ ।