इटहरी/ इटहरीमा बढ्दो मानव चापलाई लक्षित गर्दै १० लाख रुपैयाँको लागतमा निर्माण भएको घुम्ती शौचालय सञ्चालनमा आउन सकेको छैन । जिल्ला विकास समिति सुनसरी, इटहरी नगरपालिका, लुमन्ती र सीमएन नामक गैरसरकारी संस्थाको आर्थिक सहयोगमा बनेको घुम्ती शौचालय अहिले इटहरी उपमहानगरपालिकापरिसरमा थन्किएको छ ।
 
उपमहानगरपालिकाले निजी क्षेत्रलाई शौचालय सञ्चालन गर्न दिन खोजे पनि निजी क्षेत्र शौचालय सञ्चालन गर्न तयार नभएपछि सो शौचालय प्रयोगविहीन अवस्थामा छ । इटहरीमा मानिसको चाप बढ्दै गएको र सार्वजनिक शौचालय नभएकाले घुम्ती शौचालयको योजना ल्याइए पनि अहिले घुम्ती शौचालय प्रयोगविहीन छ । ‘शौच गर्ने ठाउँको भने चरम अभाव छ’ इटहरी उमपहानगरपालिका अगाडि भेटिएका इटहरी–२ का नवीन मगरले भने, ‘सार्वजनिक शौचालय नहुँदा चौकमा सर्वसाधारणलाई आपत पर्ने गरेको छ ।’ 
 
अत्यधिक भीडभाड हुने इटहरी चौकमा सार्वजनिक शौचालय नहँुदा शौच गर्नकै लागि चियापसल छिर्नु पर्ने बाध्यता लामो समयदेखि ज्युँका त्युँ रहेको बताउँछन् इटहरी–६ का हीरा महतो । उनी भन्छन्, ‘शौच गर्न मेरो होटलमा मानिसहरूको लाइन नै लाग्छ, त्यसैले शौचालय छिट्टै भरिन्छ, चौक आसपास हिँड्नेहरू आपतमा यहीँ आउँछन् के गर्ने ।’ धेरै सर्वसाधारणहरू चिया खानभन्दा पनि शौचालय जान उनको पसलमा आउने गरेको उनले बताए । 
 
शौचालय नहुँदा इटहरी आउनेअधिकांश यात्रुले दिनहुँ सास्ती खेप्नुपरेको अर्का यात्रु देवेन्द्र श्रेष्ठले बताए । ‘शौचालय जान चिया–नास्ता खाने बहाना मिलाएर होटलमा जानुपर्ने अवस्था छ’ –उनले भने ।  बृहत् शहर र पूर्वकै मुख्य चोकमा सार्वजनिक शौचालय नहुनु दुःखद् हो ।
 
सार्वजनिक शौचालय अभावमा महिला वर्गले सबैभन्दा बढी हैरानी बेहोर्नु परिरहेको श्रेष्ठले बताए । इटहरीका युवा अगुवा रमेश पोखरेलले प्रदेश नम्बर एकको राजधानी दाबी गरिरहेको इटहरीमा सार्वजनिक शौचालय नहँुदा उदयीमान शहरको अव्यवस्था स्पष्ट झल्किरहेको बताए । इटहरीमा मानिसहरूको चाप दिन प्रतिदिन बढ्दै गएको बताउँदै उनले भएको घुम्ती शौचालयसमेत  सञ्चालनमा नआउनु उपमहानगरपालिकाको कमजोरी रहेको बताए । शौचालयको निहँुमा होटल जानुपर्ने अनि चिया वा नास्ता खाने बहाना गर्नुपर्ने बाध्यता रहेको उनले थपे ।
 
इटहरी उपमहानगरपालिका वातावरण शाखाका पुष्प चौधरीले शौचालय अभाव रहेको स्वीकारे । नयाँ शौचालय बनाउने कुरा भए पनि नबन्ने भएको उनले बताए । ‘इटहरी उपमहानगरपालिकामा चाँडै सार्वजनिक शौचालय बनाउने कुरा भइरहेको छ’ –चौधरीले भने । बिहानको समयमा अधिकांश यात्रु शौचालयको खोजीमा हुन्छन् ।
 
आसपासमा शौचालय नभएपछि केही पर रहेको रूखको फेदमा शौच गर्ने गरेको उनी बताउँछन् । खुला स्थानमा शौच गर्न महिलालाई गाह्रो पर्ने उनको तर्क छ । पूर्वको मुख्य नाकाको रूपमा रहेको इटहरी उपमहानगरपालिकाका मुख्य स्थानमा शौचालय नभएपछि यात्रुले बढी हैरानी खेप्दै आएका छन् ।