धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन विभिन्न प्रयोजनका लागि भाडामा लिएर ११ वटा व्यवसायिक संस्थानहरूले महशुल बक्यौता  नतिरेको प्रतिष्ठानले जनाएको छ ।  

२१ हजार रुपैयाँदेखि ६० लाख रुपैयाँसम्मको बक्यौता हालसम्म नतिरेका कारण प्रतिष्ठानलाई थप आर्थिक भार थपिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राडा. सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार सुनसरी, मोरङ र काठमाडौंका विभिन्न फर्मले दुई करोड १६ लाख लाख ६० हजार १२३ रुपैया रकम बुझाएका छैनन् । उनीहरूले घरबहाल र विजुली महसुलबापतको रकम नतिरेको  रजिष्ट्रार सङ्ग्रौलाले जानकारी दिए । उनीहरू अहिले प्रतिष्ठानमा छैनन् । प्रतिष्ठान प्रशासनले दिएको जानकारी अनुसार रंजित अग्रवाल सञ्चालक रहेको रजत फर्मा डिस्ट्रिब्युटर्स विराटनगरको नाममा ६० लाख ९७ लाख ८ सय ५२ बक्यौता रहेको छ । यस्तै पवनकुमार अग्रवाल सञ्चालक रहेको लाइफ केयर मेडिकल्स धरानको नाममा ४१ लाख ६७ हजार, सुमी लोहनी प्रोपराइटर रहेको टेक्सन भोजनालयको नाममा २० लाख ८१ हजार बक्यौता रहेको छ । टेक लोहानीले सम्झौता गरेको उक्त फर्मले २ बर्ष अघि प्रतिष्ठान परिसरमा क्यान्टिन चलाएको थियो ।

यस्तै अमित सागवानको नाममा रहेको अमित बुक डिपो धरान–९ को नाममा १२ लाख १४ हजार बक्यौता रहेको छ । यी सबै फर्महरू प्रतिष्ठानबाट बक्यौता नतिरी बाहिरिएको रजिष्ट्रार सङ्ग्रौलाले जानकारी दिए । वर्षौदेखि प्रतिष्ठानलाई तिर्नुपर्ने बक्यौता नतिरेको प्रतिष्ठान प्रशासनले जनाएको छ । “हामीले पटक पटक ताकेता गर्दासमेत उनीहरू बक्यौता बुझाउन आएका छैनन् । अब प्रतिष्ठान बक्यौता असुलीका लागि कानुनी प्रक्रियामा जाने छ”–रजिष्टार सङ्ग्रौलाले भने । पटक पटक ताकेता गर्दासमेत उनीहरूले अटेर गरेको उनले बताए ।