सिरहा । जनमत पार्टीका संयोजक डा.सीके राउतले पहिलो जनसभा सिरहाको मिर्चैयामा गर्ने भएको छ । जनसभाको तयारी स्वरुप प्रचार प्रसार सुरु गरेको हो ।
यही चैत्र ३० गते शनिबार मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित मोहन माध्यमिक विद्यालय प्राङ्गनमा बृहत्त जनसभा हुने जनमत पार्टीका कायकर्ता अरविन्द सहनीले जनाएको छ । पार्टी संयोजक राउतले सम्बोधन गर्ने उक्त जनसभामा मधेसको सबै जिल्लाबाट कायकर्ता र नेता उतार्ने बुझिएको छ । नेपाल सरकारबीच ११ बुँदे सहमतिपछि सिरहाको लहानमा दुई दिनसम्म बैठक गरी राउतले जनमत पार्टी गठन गरेका थिए । उक्त पार्टी गठनसँगै मधेशका प्रत्येक जिल्लामा जनसभा गर्ने निर्णय पनि गरेको थियो ।
अहिले उक्त पार्टीका अगुवा जिल्ला नेताहरु सदस्यता विस्तारमा जोडतोडका साथ लागेका छन् । सरकारसंग सम्झौता गरेपछि स्वतंत्र मधेसको नारा छाडेर ’जनमत दो, आजादी लो’ नारा लिएर अघि बढेको छ ।
पार्टी गठनसँगै जिल्ला जिल्लामा संगठनमा अगुवा नेताहरु जुटिसकेका छन् । कतिपय जिल्लामा तदर्थ समिति समेत गठन गरिसकेको नेताहरुले जनाएको छ । अहिले गाउँ–गाउँमा जिल्ला कमिटी गठन गर्ने कार्य तिब्र गतिमा भइरहेको जनमत पार्टीका कायकर्ता अरविन्द सहनीले बताए ।
उनका अनुसार संगठन निर्माण भएलगत्तै मधेसका हरेक जिल्लामा पालैपालो आम सभा गर्ने निर्णय भएको छ । आम सभामा लाखौं जनता उतार्ने सोचका साथ संगठन निर्माण तेज गतिमा भइरहेको छ ।
पार्टीको बारेमा जनचेतना जगाउने, कोणसभा गर्ने र जनतालाई आकर्षित गर्ने नीतिका साथ अगाडी बढेको उनले भने ।