विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीले आफू मातहत रहेको प्रहरी कार्यालयमा छड्के अनुगमनमा निस्किए । अनुगमनको क्रममा सेवाग्राहीसँग इन्धन माग्नेदेखिको ड्युटीको समयमा मादकपदार्थ सेवन (मापसे) गर्नेसम्म फेला पारे । प्रहरी प्रधान कार्यालयको नीति अनुरूप पेशागत मर्यादा र आचरण विपरीत कार्य गर्ने प्रहरी जवानदेखिको असईसम्मका चारजना प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याएका छन् । पेशा र आचरण विपरीत कार्य गर्ने असई, हवल्दा र र २ जना प्रहरी जवानलाई कारबाहीमा परेको मोरङ प्रहरीले मङ्गलबार नामावली नै सार्वजनिक गरेको छ ।

एक साताको अवधिमा मोरङका विभिन्न स्थानमा रहेका प्रहरी युनिटको अनुगमन गरिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए । अनुगमनको क्रममा सुरक्षामा खटिने प्रहरी कर्मचारीले नीतिअनुरूपमा पेशागत मर्यादा र आचरण विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको उनले बताए । कारवाहीमा पर्नेमा प्रहरी चौकी गछियामा कार्यरत प्रहरी हवल्दार वीरेन्द्र यादव, विराटनगर–१२ मा रहेको प्रहरी चौकी बखरीका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार यादव, प्रहरी चौकी आँपगाछीका प्रहरी जवान धर्मराज भण्डारी र प्रहरी जवान केशव दर्जी रहेको मोरङ प्रहरीले जनाएको छ ।

‘१६ चैतमा सेवाग्राहीसँग व्यक्तिगत लाभको लागि इन्धन माग गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गछियामा कार्यरत प्रहरी हवल्दार वीरेन्द्र यादवलाई कारबाही गरेको हो’ मोरङ प्रहरीका प्रवक्ता डिएपी घनश्याम श्रेष्ठले भने, ‘उनलाई तत्काल प्रहरी नियमावली अनुरूप कारबाही अगाडि बढाइएको छ । जिल्ला झिकाएर अहिले स्पष्टीकरण पनि सोधिएको छ ।’ त्यसैगरी चैत २२ गते मोरङको एसपी केसीले गरेको अनुगमनको क्रममा प्रहरी चौकी बखरीका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार यादवले गैरजिम्मेवारी र लापरबाहीपूर्वक प्रहरी परिचालन गरेको देखिएकोले उनलाई पनि विभागीय कारबाही गरिएको छ ।

प्रहरी स्रोतको अनुसार असई यादवले ड्युटीको समयमा मापसे गरेको अवस्थामा एसपी केसीले फेला पारेका थिए । असई यादवले घरेलु मदिरा उत्पादन गर्नेहरूसँग अवैध रूपमा रकम असुल्ने गरेको पनि आरोप लागेको छ । उनलाई वडा प्रहरी कार्यालय विराटनगरमा झिकाएर थप अनुसन्धान भइरहेको छ । त्यसैगरी २४ चैतमा इलाका प्रहरी कार्यालय रङ्गेलीको मातहतमा पर्ने प्रहरी चौकी आँपगाछीमा कार्यरत प्रहरी जवान धर्मराज भण्डारी र प्रहरी जवान केशव दर्जीले अनुशासनहीन, गैह्रजिम्मेवार तथा लापरबाहीपूर्ण कार्य गरेकोले उनीहरूलाई प्रहरी नियमावली बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
चारैजना प्रहरीलाई विभाग कारबाही गरिने डिएसपी श्रेष्ठले बताए । ‘विभागीय कारबाही उनीहरूको कसूर अनुसारको हुनेछ’ डिएसपी श्रेष्ठले भने, ‘कसैको ग्रेड रोक्का हुन्छ भने कसैलाई नसिहतजस्ता अरु कारबाही गरिनेछ ।’

सर्वसाधारणलाई कुनै पनि प्रहरीले नियम विपरीत आर्थिक प्रलोभनमा पारेको देखेको वा आफै समस्यामा परेको भए जिल्ला प्रहरी कार्यालयको सम्पर्क नं. ९८५२०२६७५०, १०० वा मोरङ प्रहरीको एपमा सूचना दिन प्रहरीले सबैमा अनुरोध गरेको छ ।