चतरा/ शनिबारदेखि वराहक्षेत्रस्थित प्राचीन हरिद्वार चतराधाममा शुरु कुम्भ मेलामा विद्युत व्यवस्थापन उप–समितिले धरौटीका नाममा ३ हजार ५ सय देखि ५ हजारसम्म रकम असुलेको तथ्य सार्वजनिक भएको छ ।
देश–विदेशबाट कुम्भ मेलामा एक महिनासम्म व्यापार गर्न आएका व्यापारीलाई विद्युत व्यवस्थापन गर्ने भन्दै उपसमितिले एउटा फ्रिज राख्ने व्यवसायीलाई ३ हजार ५ सय र दुई वटा फ्रिज राख्ने व्यवसायीलाई ५ हजारसम्म धरौटीका नाममा रकम उठाउन थालिएको व्यवसायीले बताएका छन् ।
‘स्थानीयलाई भन्दा पनि बाहिरबाट आउने व्यवसायीलाई धरौटी भन्दै समितिले पैसा लिएको छ,’ एक व्यवसायीले भने, ‘हामीले पैसा दिन समस्या छ भन्दा उसो भए बिजुली आउँदैन, तोकिएको पैसा दिनुपर्छ, समितिले पैसा खाने होइन पछि फिर्ता हुन्छ भन्दै पैसा उठाए ।’
विद्युत व्यवस्थापन उपसमितिका संयोजक प्रकाश राउतले विद्युत प्राधिकरणको मिटर राखिएकाले धरौटीवापत् रकम उठाउनु परेको बताए । ‘सरकारी मिटर हो, हामीले लिगल्ली काम गरेका छौं, मिटरमा जति रकम उठ्छ त्यति व्यापारीले तिर्नुहुन्छ, उब्रेको रकम फिर्ता दिइन्छ । संयोजक राउतले एउटा फ्रिज र एउटा बत्तीको ३ हजार ५ सय रुपैयाँ लिइएको बताए ।
यता मूल समितिका महासचिव ओमकुमार शर्माले भने रकम उठाउने विषयमा मूल समितिमा निर्णय नभएको जानकारी दिए । ‘नेपाल विद्युत प्राधिकरण धरानबाट साढे ५ लाख रुपैयाँ धरौटी जम्मा गर्न पत्र काटिएको छ, त्यसैका लागि व्यवसायीबाट रकम लिएको हुन सक्छ ।’ महासचिव शर्माले भने । उनले विद्युत प्राधिकरणसँग १५ दिनभित्रमा रकम जम्मा गर्ने भनेपछि प्राधिकरणले विद्युत जडान गरिदिएको बताए ।
यस अघि पनि ३ हजार ५ सय देखि ७ हजारसम्म शुल्क लिएर बजार व्यवस्थापन समितिले उपलब्ध गराएको व्यवसायिक स्टललाई ३० हजारदेखि ४० हजार रुपैयाँसम्म विचौलियाले बिक्री गर्दै रकम असुलेको खबर सार्वजनिक भएको थियो ।
धरौटीवापत् रकम उठाइएको बारे वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख तथा कुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्षलाई समेत गुनासो गरेको व्यवसायीले बताए । नगर प्रमुख खनालले रकम उठाउनु मर्यादित काम नभएको भन्दै तुरुन्त बन्द गराउने आश्वासन दिएको एक व्यापारीले बताए ।
कुम्भ मेला स्टेरिङ कमिटीका सदस्य तथा अनुगमन समितिका सदस्य तुलसी पाण्डेले व्यवसायीबाट धरौटीका नाम रकम असुल्नु गैरकानूनी भएको बताए । उनले कुम्भ मेलालाई चुस्तदुरुस्त सञ्चालनका लागि मूल समितिले व्यवस्थापन गर्नुपर्ने बताए । उनले बजार अनुगमनका क्रममा व्यसायी र धर्मावलम्बीबाट गुनासो आइरहेको बताए ।
‘स्टल बिक्रीका नाममा बढी पैसा लिएको, विद्युतका नाममा धरौटी भन्दै रकम असुलेको, शौचालयको सुविधा नरहेको, व्यवस्थापन सहज नभएको लगायतका गुनासा आइरहेका छन् ।’ पाण्डेले भने, ‘आगन्तुक र धर्मावलम्बीहरूलाई सहज हुने गरी मूल समितिले काम गर्नुपर्छ ।’
स्टल लिएका व्यवसायीले आफूलाई मार्का परेको गुनासो लिएर जाँदा मूल समितिका उपाध्यक्ष तथा वराहक्षेत्र वडा नं. १ का अध्यक्ष सुरेश श्रेष्ठले प्रदेश सरकारबाट पैसा नआएकाले व्यापारीबाटै पैसा उठाउनु परेको जवाफ दिने गरेको स्थानीय व्यवसायी विजय राईले बताए ।
कुम्भ मेलाको व्यवस्थापनका लागि तीन महिना अगाडि मूल समिति गठन भएको थियो । विभिन्न उपसमिति गठनका बेलासमेत स्थानीय राजनीतिक दलको भागवण्डा नमिल्दा पटकपटक उपसमिति गठनमा विवाद उत्पन्न भएको थियो । हाल आएर स्वयम्सेवक गठन गर्दासमेत काङ्ग्रेस र कम्युनिष्टलाई भागवण्डा गरेको स्टेरिङ समितिका तुलसी पाण्डेले बताए ।
सम्बन्धित उपसमितिले जिम्मेवारी पूरा नगरेको भन्दै स्टेरिङ कमिटीका सदस्यहरू समेतले असन्तुष्टी जनाउँदै आएका छन् । स्टेरिङ कमिटीका सदस्य लङ्कमान विकले कुम्भ मेलाको उद्घाटन हुँदासम्म बिजुली, खानेपानी, शौचालयजस्ता आधारभूत आवश्यक्ताको व्यवस्थापन गर्न नसकिएको बताए ।
































