पाँचथर/ जिल्लाको हिलिहाङ–७, माझीटारमा तमोर करिडोर सडकले सिंचाइ कुलो भत्काएपछि स्थानीय माझी समुदायले खेतीकमाइ गर्दै आएको खेत बाँझिएका छन् ।

सडक निर्माणको क्रममा कुलो भत्किएपछि हिउँदे र बर्खे धान रोप्दै आएको करिब सय रोपनी खेत बाँझो राख्न बाध्य भएको स्थानीय जसबहादुर माझीले गुनासो गरे । उनले भने, ‘हिउँदे र बर्खे गरी पाँच सय मुरीभन्दा बढी धान फल्ने खेत तीन वर्षदेखि खेर गइरहेको छ ।’ जसबहादुरका अनुसार स्थानीय १३ घर माझी परिवारले खेतीकमाइ गर्दै आएको खेत सिंचाइ अभावमा बाँझिएको हो । उक्त खेतमा एक माना बिउको एक मुरी धान फल्ने गरेको उनको भनाइ छ ।

बिग्रिएको कुलो बनाइदिन पटकपटक आग्रह गर्दा पनि सडक निर्माण कम्पनीले कुनै चासो नदेखाएको माझी समुदायको दुखेसो छ । माझीटारका एकदुई घर माझीको आफ्नै स्वामित्वको जमिन भए पनि अन्यले भने अरुकै खेत कमाउँदै आएका छन् । चार पुस्तादेखि कुतमा कमाउँदै आएको खेत बाँझिंदा दैनिकी टार्न समस्या भएको उनीहरूको गुनासो छ । ‘क्षतिपूर्ति पनि पाएनौं, कुलो पनि बनेन, अन्यायमा परेका छौं’ स्थानीय फूलमाया माझीले दुखेसो पोखिन् ।

उनीहरूले खेतमा धानमात्र नभएर मकै र तरकारीसमेत लगाउँदै आएका थिए । भत्किएको कुलो नबन्दा खेतीयोग्य जमिनबाट माझी समुदायले उत्पादन गर्न पाएका छैनन् । लामो समयसम्म पनि भत्किएको कुलो नबन्दा निर्माण कम्पनीबाट साहुले सुटुक्कै क्षतिपूर्ति लिएर चुप बसेको हो कि भन्ने आशङ्का स्थानीयमा उत्पन्न भएको छ ।