भद्रपुर । आदिवासी जनजाति महासङ्घ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै पन्ध्रदिने महोत्सव शुरु गरेको छ ।

प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव अन्र्तगत आयोजना गरेको महासङ्घले बैशाख ५ गतेसम्म सञ्चालन हुने गरीे महोत्सव सुरू गरेको हो । महोत्सवले ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।

महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ ।

भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको मैदानमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक सांगितिक प्रस्तुति दिईरहेका छन् । महासङ्घमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा सहितको स्टल राखिएको छ ।

३५ वटा स्टल रहेको महोत्सवमा राजवंशी, गन्गाई, सुनुवार, मेचे, सन्थाल, थारू, याख्खा, गुरूङ, मगर, तामाङ र भुजेल जातिले मौलिक पहिचान सहितका स्टल राखेका छन् ।

महोत्सवलाई आकर्षक बनाउन राष्ट्रिय कलाकारको टोलीले प्रत्येक साँझ नेपाली साँगीतिक प्रस्तुति दिइरहेको आयोजक समितिकी सदस्य रीता मुखियाले जानकारी दिइन् ।

भद्रपुरको व्यापारिक चहलपहलका लागि महोत्सव फलदायी हुने संयोजक सन्तोष राजवंशीले बताए । महोत्सवमा २२ लाख खर्च अनुमान गरिएको र २५ लाख आम्दानी हुने अनुमान गरिएको उनको भनाइ छ ।

महोत्सवले आदिवासी जनजातिको भाषा, संस्कार, संस्कृति, भेषभुषा, खानपान र बाजागाजाहरूको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उनले जनाए ।

यसैगरी मिस एण्ड मिस्टर आदिवासी प्रतियोगिताले आदिवासी जनजाति युवा युवतीमा कलात्मक क्षमता विकास हुने तथा व्यक्तित्व विकासमा योगदान पुग्ने उनको बुझाइ छ ।

http://blastkhabar.com/bhadrapurama-janajati-mahasanghako-mahotsava