बिर्तामोड । झापाको भद्रपुरमा रहेको रुद–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले पुरस्कारका लागि यो बर्ष चयन भएका प्रतिभाको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी यस बर्षको पुरस्कारका लागि चयन भएका नाम सार्वजनिक गरेको हो ।

२०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करण अन्तर्गत पुरस्कार प्रदान गर्न लागेको हो । यसअघि प्रतिष्ठानले पाँचौ पटक पुरस्कार प्रदान गरिसकेको छ । १ करोडको अक्षयकोष राखेर समाजमा उल्लेख्य योगदान गर्ने ब्यक्ति वा संस्थालाई प्रतिष्ठानले हरेक बर्ष पुरस्कार प्रदान गर्दै आएको छ ।

बैशाख ७ गते काठमाण्डौको प्रज्ञा भवनमा एक समारोहको आयोजना गरी यसबर्ष चयन भएका ब्यक्ति र संस्थालाई पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । शताब्दीपुरुष डा सत्यमोहन जोशीको उपस्थितीमा पुरस्कार प्रदान गर्न लागिएको उनले बताए ।

रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार बाट ललितपुरको नख्खुका डाक्टर केदार बुढाथोकी पुरस्कृत हुने भएका छन् । बुढाथोकिले बेलायतको ‘अफ सिजन फ्रेस ओनियन प्रोडक्सन एज दि क्यास क्रप्स’ मा बिद्यारिधी गरेर ३५ बर्षसम्म कृषि अनुसंधान परिषद (नार्क) मा काम गरेका थिए । उनले बर्णशंकर बिधिबाट उच्च गुणस्तरको टमाटर उत्पादन प्रक्रियाको बिकास गरेका छन् । बुढाथोकीले नगद १ लाख १ हजार १ सय ११ रुपैंयाँको पुरस्कार पाउने भएका छन् ।

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सुनसरीको धरानका सामाजिक अभियन्ता दुर्गा घिमिरे पुरस्कृत हुने भएकी छन् । एबीसी नामक संस्था स्थापना गरेर ३ हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गर्न भूमिका खेलेकी घिमिरेलाई नगद १ लाख १ हजार १ सय ११ रुपैंयाँ पुरस्कार प्रदान गर्न लागिएको हो ।

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट पत्रकार पर्शुराम खरेल(पी. खरेल) पुरस्कृत हुने भएका छन् । लामो समयदेखि पत्रकारितामा सक्रिय खरेल हाल त्रिविको आम सञ्चार बिभागमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यारत रहेका छन् । उनले १ लाख १ हजार १ सय ११ रुपैंयाँ पुरस्कार पाउँने भएका छन् ।

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट दैलेखको गुराँस–३ का बालक यामबहादुर बिक पुरस्कृत हुने भएका छन् । जिल्ला बाल क्लब समितिका अध्यक्ष समेत रहेका बिकले बिभिन्न सामाजिक कार्यहरुमा नेतृत्व लिदै आएका छन् । उनले ५१ हजार १ सय ११ रुपैंयाँले पुरस्कार पाउँने भएका छन् ।

यसअघि भद्रपुरको लेखनाथ पुस्तकालयको संयोजनमा श्री प्रसाद ओली स्मृति साहित्यिक पुरस्कारबाट भारतको गुवाहटीकी साहित्यकार इन्दुप्रभा देवीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए । पुरस्कारको राशी ५१ हजार १ सय ११ रुपैंयाँ रहेको छ ।

‘खानेपानीमा श्रीप्रसाद’ भन्ने नाराका साथ झापाको अर्जुनधारामा रहेको शंकराचार्य पिठमा १० लाखको लागतमा खानेपानी ट्याङकी निर्माण सम्पन्न हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शंकराचार्य पिठमा अध्ययन गर्दै आएका बिद्यार्थीलाई खानेपानी सहज बनाउन बिद्यालय प्राङगणमा १ लाख लिटर क्षमताको ट्याङकी निर्माण गर्न लागिएको समितिका कोषाध्यक्ष नारायण ओलीले जानकारी दिए ।

प्रतिष्ठानले हरेक बर्ष दुर्गम क्षेत्रका ४२ बालबालिकालाई शैक्ष्ँिक सामग्री प्रदान गर्दै आएको छ । प्रतिष्ठानले खेलकुदमा समेत बिजयी हुने टीमलाई पुरस्कार प्रदान गर्दै आएको बताइएको छ ।