पाँचथर । पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोडस्थित लिम्बुवान गेटको मर्मत कार्य शुरु गरिएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् हालै शुरु भएको लिम्बुवान स्प्रिङ आन्दोलनको आर्थिक व्यवस्थापनमा गेट मर्मत गर्न शुरु गरिएको हो । जीर्ण भएका स्थानहरूमा टाल्ने र नयाँ रङ्गरोगन गर्ने काम शुरु भएको लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता मधु केरुङले बताए । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि गेटको अग्रभागमा रहेको राजाको श्रीपेच हटाइएको थियो ।

त्यसपछि लिम्बू जातिलाई चिनाउने प्रतीक सिलामसाक्मा र च्याब्रुङको चित्र अङ्कित गरिएको थियो । गेटमा नेपाली, लिम्बू र अङ्ग्रेजी तीन भाषामा ‘पान्थर थुम फेदेन यहाँहरूलाई हार्दिक स्वागत गर्दछ’ लेखिएको छ । लिम्बू जातिको बाहुल्यता रहेको पाँचथर सदरमुकाममा रहेको उक्त गेटलाई सबैको साझा सम्पदा भएकाले मर्मत सम्भार गरिएको लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता टङ्क सेलिङले बताए ।