भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकामा विभिन्न रोगहरूको परीक्षणका लागि ल्याव सेवा सञ्चालनमा आएको छ ।
आधुनिक प्रविधिसहितको ल्याव सेवा गाउँपालिका केन्द्र अन्नपूर्णमा एक साताअघि सञ्चालनमा आएको हो । सेवा सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर गाउँपालिकाले जनशक्ति तथा सामग्री खरिदका लागि ३५ लाख रुपैयाँ खर्च गरेको गाउँपालिका अध्यक्ष युवराज राईले बताए ।
उनले भने, ‘जनतालाई सहज रूपमा सेवा दिन करारमा एक जना प्राविधिक राखेका छौं, गाउँका बिरामीलाई सामान्य रोगको परीक्षण गर्न जिल्ला सदरमुकाम धाउने बाध्यता हटेको छ , गाउँबाटै सेवा लिन पाएकाले गाउँपालिकाबासी खुशी छन ।’ अध्यक्ष राईका अनुसार सर्वसाधारण जनतालाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाको अन्नपूर्ण स्वास्थ्य चौकीमा पहिलो पटक ल्याब सेवा सञ्चालन गरिएको हो ।
गाउँपालिकामा विद्युत् विस्तार भएकाले ल्याब सेवा सञ्चालनमा ल्याउन सहज भएको उनको भनाइ छ । ल्याव सञ्चालनमा आएपछि गाउँपालिकाको खावा, अन्नपूर्ण, तिम्मा, खम्बुखा, पाङ्खाङ, रिमचिम, लेखर्क, गोगने, कोटलगायत ठाउँका स्थानीय स्वास्थ्य परीक्षण गर्न आउने गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक दानप्रसाद राईले बताए । सेवा लिन खोटाङको पूर्वी क्षेत्रका स्थानीयसमेत आउन थालेको संयोजक राईले जानकारी दिए ।
हाल ल्याबमा रगत, खकार दिसा , पिसाबलगायत ४१ प्रकारका स्वास्थ्य परीक्षण हुने गरेको छ । यसअघि गाउँपालिकामा ल्याव सेवा नहुँदा त्यस क्षेत्रका जनता सामान्य स्वास्थ्य परीक्षणका लागिसमेत जिल्ला अस्पताल धाउनु पर्ने बाध्यता रहेको अन्नपूर्णकी लक्ष्मी राईले बताइन् । अहिले भने गाउँमै ल्याव सेवा लिन पाउँदा सदरमुकाम धाउने बाध्यता हटेको छ । समय र खर्चको समेत बचत भएको भन्दै स्थानीय खुसी भएका छन् ।
































