उदयपुर/ उदयपुरको पहिलो र ठूलो निजी लगानीको पाइप तथा प्लाष्टिक उत्पादन उद्योग सञ्चालनमा आएको छ । सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योगबाहेक निजी लगानीको ठूलो उद्योग नरहेको जिल्लामा साढे तीन करोड लगानी गरी गिरीबन्धु प्लाष्टिक रिसाइक्लिङ उद्योग सञ्चालनमा आएको हो ।
त्रियुगा नगरपालिका–३ मोतीगडा खुन्टामा सञ्चालन भएको उद्योगले गत कार्तिक महिनादेखि विभिन्न साइजका कालो पाइप र कालो प्लाष्टिक उत्पादन गर्दै आएको छ । खानेपानी तथा सिंचाइका लागि उपयुक्त हुने १६ एमएमदेखि २४० एमएमसम्मको पाइप र ढलान कामका लागि आवश्यक पर्ने प्लाष्टिक उत्पादन गर्दै आएको छ ।
सिंचाइ र खानोपानीका लागि प्रायोग गरिने कालो पाइप र गाउँघरमा काम गर्दा ओढ्ने घुम लोप भएकाले ओढ्न, ढलान गर्न प्रयोग गरिने कालो पाइप उत्पादन गर्दै आएको छ । ग्रामीण भेगमा ठूलो लगानीको उद्योग सञ्चालन गर्न चुनौती छ भन्ने कुरालाई चिर्दै थालिएको उद्योगको शुरुकै अवस्थामा उत्पादन र बजार उत्साहजन पाएको उद्योग सञ्चालक प्रदीप गिरीले बताए ।
कच्चा पदार्थको रूपमा शुद्ध प्लाष्टिक दाना र स्थानीयस्तरमा खेर गई वातावरण प्रदूषण बनाइरहेका प्लाष्टिकहरूलाई सङ्कलन गरेर प्रशोधन गरी गुणस्तरीय सामान उत्पादन गर्दै आएको उद्योगले जनाएको छ । उद्योग सञ्चालनसँगै स्थानीयस्तरमै रोजगारी समेत सिर्जना भएको छ । हाल २१ जना स्थानीयले रोजगारी पाइरहेका छन् ।
उद्योग खुलेपछि विदेशिन लागेका युवाहरूले आफ्नै ठाउँमा रोजगारीको मौका पाएका मात्र छैनन् विदेश गएर काम सिकेका जनशक्तिले पनि आफ्नै ठाउँमा रोजगारी र सीपको प्रयोग गर्ने मौका पाएको कामदार (मिस्त्री) शम्भु गिरीले बताए । गाउँमै उद्योग खुलेर रोजगारी पाउँदा एकदम खुसी लागेको महिला कामदार तिलककुमारी ठकुरीले बताइन् ।
उद्योगले रोजगारीमात्र सिर्जना नगरी मानिसले प्रयोग गरेर जताजतै फ्याँकेका प्लाष्टिक सङ्कलन गर्नाले सरसफाइमा समेत टेवा पुगेको छ । जलेर तथा कुहिएर नष्ट नहुने प्लाष्टिक व्यवस्थापन गरी वातावरण संरक्षणमा नगरपालिका तथा गाउँपालिकालाई चुनौती बन्दै गइरहेको अवस्थामा तीनै स्थानीय तहसँग समन्वय गरेर उद्योगले प्लाष्टिक सङ्कलन गर्दै आएको छ । प्लाष्टिकहरू उद्योगले किनिदिन थालेपछि सर्वसाधारणले प्रयोग गरी फाल्नुको सट्टा सङ्कलन गरी बेचेर पैसा आर्जन गर्न थालेका छन् ।
दैनिक १६ हजार केजी पाइप र १० हजार केजी प्लाष्टिक उत्पादन गर्ने क्षमताको उद्योगले हाल २ हजार ५ सय केजी पाइप र १ हजार २ सय केजी प्लाष्टिक उत्पादन गर्दै आएको छ । उत्पादित सामानलाई बजारको समस्या नभएको उद्योग सञ्चालक गिरीले बताए ।
जिल्लाका विभिन्न बजार र छिमेकी जिल्लाहरू खोटाङ, सोलु, ओखलढुङ्गा, भोजपुर, धनकुटा, सप्तरी, सिरहालगायतका जिल्लाको बजारलाई केन्द्रित गरी उत्पादन वृद्धि गर्दै लैजाने योजना उद्योगको छ । उद्योग सञ्चालनको हिसाबले उदयपुर उपयुक्त जिल्ला रहेको सञ्चालक गिरीले बताए । स्थानीय सरकारले निजीस्तरका उद्योगहरूको विकास र प्रवद्र्धनमा ध्यान दिनु पर्ने नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, उदयपुरका अध्यक्ष मधुकार थापा बताउँछन् ।