पाँचथर यासोक । पाँचथरका विभिन्न स्थानीय तहमा नेपाल सरकारले खानेपानी योजनाका लागि एक अर्ब बढी रकम विनियोजन गरेको छ । जिल्लाका सबै नागरिकलाई खानेपानीको पहुँचमा पुर्याउने लक्ष्यअनुरूप उक्त रकम विनियोजन गरी काम गर्दै आएको हो ।
वर्षेनी वर्षा कम हुँदै जाँदा खानेपानीका मुहानहरू सुक्न थालेपछि सरकारले दीगो लक्ष्यका साथ सानादेखि ठूला योजनाको काम गर्दै आएको छ । तीन तहका सरकारले खानेपानीको योजनाको लागि बजेट विनियोजन गरी काम गर्दै आएका छन् । प्रदेश सरकारले मात्रै आर्थिक वर्ष ०७५÷७६ मा पाँचथर, इलाम र ताप्लेजुङ गरी तीन जिल्लामा ३१ करोड रकम विनियोजन गरेको छ ।
पाँचथर जिल्लामा रहेका दुई ठूला योजना सङ्घीय सरकारले जिम्मा लिएको छ । कुम्मायक र तुम्बेवा गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी योजनाको काम केन्द्र सरकारले हेर्दै आएको हो । केही साना योजनालाई मात्रै प्रदेश मातहतमा ल्याएको हो । प्रदेश सरकाले यही आर्थिक वर्षमा ताप्लेजुङ र पाँचथरमा १० करोडका दरले २० करोड र इलाम जिल्लामा ११ करोड गरी कुल ३१ करोड रुपैयाँ खानेपानी डिभिजन कार्यालय पाँचथरमार्फत् विनियोजन गरेको छ । खानेपानीको मुहान सुकेपछि पाँचथरको कुम्मायक र फाल्गुनन्द गाउँपालिका डिप बोरिङमार्फत् प्रदेशले खानेपानी योजना सञ्चालनमा ल्याएको छ । जिल्लाको हिलिहाङ र फाल्गुनन्द गाउँपालिकामा लिफ्टिङ खानेपानी योजना सञ्चालन गर्ने तयारी गर्दै आएको जनाएको छ ।
दुवै स्थानीय तहमा लिफ्ट खानेपानी योजनाका लागि डिपिआर भइसकेकाले मन्त्रालयबाट आवश्यक छलफल अघि बढाउन लागेको खानेपानी डिभिजन कार्यालय पाँचथरका प्रमुख सुरतलाल चौधरीले बताए । डिपिआरमार्फत् फाल्गुनन्दको नवमीडाँडामा ३८ करोड र हिलिहाङ गाउँपालिकाको अमरपुरमा ४० करोड स्टिमेट तयार भएको छ । ‘मन्त्रालयमा आवश्यक छलफल गरेर दुवै योजनाको टुङ्गो लागाउने गरी तयारी भइरहेको छ ।’ उनले भने ।
त्यस्तै फिदिम नगरपालिकाको खानेपानी योजना मर्मत सुधारका लागि १ करोड २५ लाख रुपैयाँ, तुम्बेवामा १ करोड र मिक्लाजुङ गाउँपालिकामा खानेपानी योजनाको लागि १ करोड रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।
जिल्लाको सुख्खाग्रस्त कुम्मायक र तुम्बेवा गाउँपालिकामा केन्द्र सरकारले ९७ करोड लागतमा तमोर लिफ्ट खानेपानी योजनाको काम गदै आएको छ । कुम्मायकका ४ वटा वडालाई लक्षित गर्दै ५२ करोडको लागतमा तमोर लिफ्ट खानेपानी योजनाको काम गर्दै आएको छ । तुम्बेवा गाउँपालिकामा पनि ४५ करोडको लागतमा तमोर लिफ्ट खानेपानी योजनाको काम हुँदै आएको छ । दुवै स्थानीय तहका ५ हजार बढी घरधुरीले स्वच्छ खानेपानी उपभोग गर्ने छन् ।
सरकारले दीगो लक्ष्यअनुरूप सबैका घरघरमा स्वस्च्छ खानेपानी आगामी २०३० सालसम्ममा पुर्याउने लक्ष्य लिइएको छ । अबको ५ वर्षभित्र सबै नागरिकले आधारभूत खानेपानी उपभोग गर्ने र १२ वर्षसम्ममा सबै नागरिकको घरघरमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने सरकाले लक्ष्य लिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ । हाल सङ्घीय सरकारले देशभर रहेका १५ वटा ठूला खानेपानी योजनाको काम गर्दै आएको छ ।
































