उदयपुर/ किराना पसल र गाडीबाट भन्दा पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि उदयपुर कटारीका एक किसान तीन वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
कटारी नगरपालिका–८ सिरिसेका किसान ताराबहादुर बुढाथोकी अन्य व्यवसायभन्दा राम्रो आम्दानी हुने भएपछि तरकारी खेती गर्दै आएको बताउँछन् ।
किराना पसल र ड्राइभिङ पेसासमेत गरेका बुढाथोकीले व्यावसायिक तरकारी खेती नै सबैभन्दा राम्रो भएको बताए । हाल बुढाथोकीले वार्षिक ४ लाख आम्दानी गर्दै आएको बताउँछन् । इलाम घुम्न जाँदा त्यहाँको वातावरण र व्यावसायिक तरकारी खेतीबाट प्रेरित भएको बुढाथोकीले बताए । तरकारी खेतीबारे कुनै प्राविधिक ज्ञान नभए पनि घुम्न जाँदा देखेकै भरमा तरकारी खेती शुरु गरेको उनी बताउँछन् । पछिल्लो समयमा स्थानीय सरकार र बालविकास गैरसरकारी संस्थाको प्राविधिक सहयोग पाएको बुढाथोकीले बताए । व्यावसायिक तरकारी खेती गर्न थालेपछि उन्नत जातको बिउ छनोट गर्न, लगाउने तरिका, रोगको उपचारलगायत तालिम लिएका बुढाथोकीले टनेला प्लाष्टिक, प्लाष्टिक पोखरी र बिउ सहयोग पाएको बताए ।
बेमौसमी तरकारी राम्रो उत्पादन हुने भए पनि पानीको समस्या पर्ने गरेको व्यवसायी बुढाथोकीले बताए । २–३ किलोमिटर टाढादेखि पाइपमा पानी ल्याउनु पर्ने र हिउँदयाममा पानीको मुहान नै सुक्ने समस्याले गर्दा व्यवसायिक तरकारी खेतीमा समस्यासमेत आउने गरेको बुढाथोकी बताउँछन् । प्लाष्टिक पोखरीले मात्र धेरै तरकारी खेती धान्न नसक्ने हुनाले सरकारले सिंचाइको व्यवस्था मिलाइदिनु पर्ने बुढाथोकी बताउँछन् । सिंचाइको व्यवस्था भएमात्रै बाह्रैमास तरकारी खेती गर्नमा कुनै बाधा नहुने उनी बताउँछन् ।
जिल्लाकै पुरानो बजार भनेर चिनिने कटारी बजारसम्म उनले उत्पादन गरेका बन्दा, गोलभेंडा, काउलीलगायतका तरकारी पुर्याउन करिब आधा घण्टा लाग्छ । बजारको खाँचो छैन तर पानीको अभावले कुनै बेला तरकारी उत्पादनमा कमी आउँदा माग पूरा गर्न नसकिने बुढाथोकीको अनुभव छ ।
बेतेनी भञ्ज्याङ नजिकै भएकाले कतिपय तरकारीहरू बेतेनीमा समेत बिक्री हुने गरेको छ । कटारी बजार नजिकै भएकाले बजारको अभावमा तरकारी कुहिनेजस्ता समस्याहरू नभएको व्यवसायी बुढाथोकीले बताए । व्यावसायिक तरकारी खेती गर्नाले आफूले पनि स्वच्छ तरकारी खान पाइने र पैसा पनि देख्न पाइरहने बुढाथोकी बताउँछन् ।
तरकारी खेतीबाट राम्रै आम्दानी भएकाले छोराछोरी पढाउन र घरपरिवार चलाउनमा सहज भएको उनी बताउँछन् । वैदेशिक रोजगारीको लागि विदेशिने युवा शक्तिलाई व्यावसायिक तरकारी खेतीमा समेट्न सकिने बुढाथोकी बताउँछन् । घरपरिवारसँगै बसेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ । विदेशमा गएर गर्ने दुःख यहीँ गर्दा राम्रै आम्दानी हुने व्यवसायी बुढाथोकीले बताए ।
सरकारले सिंचाइको राम्रो व्यवस्था गरी विदेशिने युवा शक्तिलाई यहीँ परिचालन गर्ने हो भने आर्थिक समृद्धि आउन धेरै समय नलाग्ने बुढाथोकी बताउँछन् ।
































