रामपुर / बेलका नगरपालिकाले कृषीमा आत्म निर्भर बनाउन महत्वकाक्षी योजना अघि सारेको छ । कृषी एग्रो टुरिजमको अवधारणा बनाएर काम शुरु गरिएको छ ।
थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा (एआइटी) मा स्ट्राटजिक म्यानेजमेन्टमा स्नातकोत्तर गरेका मेयर दुर्गाकुमार थापाले प्रदेश नं. १ महानगरपालिका तथा उपमहानगरपालिकाले सिक्नु पर्ने खालका प्रोजेक्टहरु शुरु गरेका छन् ।
पचास हजार जनसंख्या र एक करोड हाराहारीमा मात्रै आन्तरिक आम्दानी भएको नगरपालिकामा पनि राम्रो काम गर्न सकिन्छ भन्ने उदाहरण थापाले पेस गर्न खोजेका छन् ।
कोसी किनारमा रहेको उर्वर हरियाली फाँट ८ हजार बिगाहा जमिन त्यतिकै रहेको थियो । उक्त जग्गालाई सदुपयोग गर्न एग्रो कृषी कार्यक्रम अघि सारेको छ । हालसालै नगरपालिकाले जिपिएस सर्वे गर्दा ५३ सय बिगाहा जग्गा प्रस्ट देखिएको मेयर थापा बताउँछन । यो जग्गामा व्यावसायिक खेती गर्नलाई १ सय बढी बिगामामा लेमन ग्रास लाउने निजी क्षेत्रसँग यो वर्षबाटै काम सुरु भएको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले बताए ।

उत्पादन बर्ष
‘सम्वृद्ध नेपाल सुखी नेपाली’ सरकारको नारालाई साकार पार्न नगरपालिकाले यो बर्षलाई उत्पादनको बर्षको रुपमा लिएको छ । सम्वृद्ध बेलका नगरका लागि पाँच वटा आधार तय गरिएको छ । उनका अनुसार कृषी विकास, पशुपालन विकास, पर्यटन विकास, उद्यम विकास र भौतिक पूर्वाधार विकासलाई आधार बनाएर काम शुरु गरिएको छ । उत्पादन बर्षका लागि नगरपालिकाबाट ८ करोड, प्रधानमन्त्रि कृषी आधुनिककरण कार्यक्रमबाट २ करोड, विभिन्न गैरसरकारी संघ संस्थाहरुबाट २ करोड प्रदेश सरकारबाट ढेड करोड गरि ८ करोडको बजेट छुटाएर कृषीलाई आधुनिकरण तथा पूर्वाधार विकास शुरु गरिएको छ ।

एकहजार हेक्टर जमिनमा सामुहिक खेती
कृषी एग्रो टुरिजमको अवधारणामा ‘कृषीमा लगानी, ल्याउछ सुनौलो विहानी’ भन्ने नारा बनाएर एक हजार हेक्टरमा सामुहिक खेती शुरु गरिएको छ । ८ हजार बिगाहामै पूर्ण रूपमा खेती गर्न तीन वटा लक्ष्य राखेको उनले बताएका छन् । प्रदेश १ लाई पुग्ने अन्न उत्पादन, कृषिको अध्ययन गर्न चाहानेलाई प्रयोगशाला र कृषि पर्यटनका लागि चक्लाबन्धी खेती शुरु गरिएको उनले बताए । हाल बेलका नगरपालिकाका वडा नं. २ पुरन्दहबाट खेती शुरु गरिएको छ । उनले सम्भाव्यताका लागि नेपालको एकमात्रै कृषि इन्जिनियरिङ पढाइ हुने धरानको पूर्वान्चल क्याम्पसका कृषि इन्जिनियरिङ विभागका विज्ञहरूलाई ल्याएर अवलोकन गराएका थिए ।

वातावरणमैत्रि विकास र बिउ बैङ्क स्थापना
कृषिको विकासको लागी आवश्यक सिचाँहिको लागी सोलार बाट वाटर लिफ्टिङ गर्ने र हलेदो रोपेर पानीको मुहान जोगाउने जस्ता योजनाहरू शुरु गरिएको छ । कंक्रिट रहित कुलोहरू बनाउने र पहाडका थुम्कोमा आहाल बनाएर ग्राउन्ड वाटर रिचार्ज गर्ने योजना रहेको मेयर थापाले बताएका छन् ।
सिमेन्टका कुलोले सुख्खापन बढाउने भएकाले चलनचल्तीका कुलोहरू नै बनाउने नगरपालिकाको योजना छ । साथै, रैथाने बिउ जोगाउन बिउ बैङ्क स्थापना गर्न लागेको छ । त्यसका लागि प्रत्येक वाह कार्यलय परिसरमा विउ बैक स्थापना गरिएको उनले बताए ।

जग्गा बाँझो राख्नेलाई ७५ प्रतिशत जरिवाना
बेलाका नगरपालिकामा जग्गा बाँझो राखेमा उत्पादन मूल्यको ७५ प्रतिशत रकम जरिवाना तिर्ने व्यवस्था पनि गरेको छ । नगरपालिकाले एक कट्ठामा कम्तीमा २ देखी ४ मुरी सम्म अन्न फल्ने आँकडा निकालेको छ । यदि जग्गाधनीले आफूले जग्गा भोगचलन गर्न नसक्ने निवेदन दिएमा भूमिहीन नगरवासीलाई उत्पादन गर्न दिने नगरपालिकाले यही वर्षमा नीति ल्याएको छ ।

अर्गानिक उत्पादन जोन
बलेका नगरपालिकामा हाल ७ र ८ नं. वडामा अर्गानिक उत्पादन हुदैं आएको छ । मैनामैनी क्षेत्रका कृषकहरुले उत्पादन गर्ने मकै, कोदो,फापर, आलुलगायतका साँग सब्जीहरु विषाधी प्रयोग नगरि उत्पादन गर्देआएका छन् । अन्य वडाहरुमा पनि उत्पादनलाई आर्गानिक बनाउने नगरपालिकाले आभियान संचालन गर्ने बताए । नगरपालिकालाई पाँच बर्ष भित्र आर्गानिक उत्पादन जोनको रुपमा विकास गर्ने लक्ष्य लिएको मेयर थापाले बताए ।