धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लामो समयदेखि समस्यै समस्या छन् । समस्या हल गर्ने भन्दै सिनेटको निर्णयले प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई बर्खास्त गर्यो तर अहिले त्यही विषयलाई लिएर अर्को समस्या जन्मिएको छ ।
 
रौनियारको बर्खास्तीलाई लिएर अहिले धरानका राजनीतिक दलदेखि प्रतिष्ठानकै कर्मचारीहरूसमेत दुई चिरामा विभाजित छन् । केही समययता नेकपाका स्थानीय नेताहरू रौनियार हटाउन लागिपरेका थिए भने काङ्ग्रेस नेताहरू जोगाउन । बर्खास्तपछि भने एउटै पार्टीमा रहेका कर्मचारीहरू पनि खुलेरदुईपक्षमा विभाजित भएका छन् ।
 
प्रतिष्ठानका समस्या बुझ्न भन्दै आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री एवम् प्रतिष्ठानका सह–कुलपति उपेन्द्र यादव, स्वास्थ्य सचिव चन्द्रकुमार घिमिरेसहितको टोली प्रतिष्ठान पुग्दा कर्मचारीको एउटा समूह उनीहरूलाई स्वागत गर्न तयार भएर बसेको थियो भने अर्को समूह हातमा कालोपट्टी बाँधेर विरोध जनाइरहेको थियो । प्रहरीले कालोपट्टी खोसेको थियो ।
 
प्रतिष्ठानको प्रवेशद्वारमा धरान–८ का वडाअध्यक्ष प्रवीण राईसहित स्थानीयको समूहले ‘रकमको चलखेलमा भिसीको नियुक्ति बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिरहेको थियो । उनीहरूले तामेलीमा रहेका प्रतिष्ठानका मुद्दा अघि बढाउन माग गरेका थिए ।
 
कर्मचारीले नै भने ‘प्रतिष्ठानमा चलखेल भयो
स्वास्थ्यमन्त्री र स्वास्थ्य सचिव प्रतिष्ठानको अनियमिततामा नाम मुछिएका प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.बलभद्रप्रसाद दाससँगै गाडी चढेर आइतबार प्रतिष्ठान पुगेका थिए । प्रतिष्ठान पुगेका सञ्चारकर्मीलाई हलबाहिर पठाएर मन्त्री र सचिवले प्रतिष्ठानका विभागीय प्रमुख, महाशाखा, शाखा प्रमुख तथा प्राध्यापक, चिकित्सक र कर्मचारीहरूसँग छलफल गर्दै राय सुझाव लिए । 
 
डेढ घण्टासम्म चलेको छलफलमा कर्मचारी तथा चिकित्सकहरूले प्रतिष्ठानको पदाधिकारी नियुक्तिमा आर्थिक चलखेल र राजनीतिक विकृति बढेको गुनासो गरेका थिए ।
 
प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीका अनुसार छलफलमा सहभागी अधिकांशले प्रतिष्ठानमा आर्थिक चलखेल र राजनीतिक आस्थाको आधारमा नियुक्ति गरिँदा प्रतिष्ठानको अवस्था बिग्रिएको गुनासो गर्दै अबको उपकुलपति नियुक्ति गर्दा यस्तो नहोस् भन्ने सुझाव दिएका थिए । उनीहरूले प्रतिष्ठानमा जनशक्ति अभाव, अस्पतालमा भएको बेड समस्या, आइसियु, एनआइसियु अभाव, डाइलाइसिसलगायतको समस्याबारे पनि कुरा उठाइएको डा.चौधरीले बताए ।
 
प्रतिष्ठानको कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले अधिकांशले पदाधिकारी नियुक्तिमा हुने चलखेलको विषयमा गुनासो राखेको बताए । कर्मचारीहरूले निर्माण ठप्प भएको एमसिएच, अङ्कोलोजी, कार्डियोलोजीलाई सुचारु गर्न साथै आइसियु, डाइलाइसिस सेवा विस्तार गर्न पनि आग्रह गरेका छन् । पदाधिकारीबाहेकका डिन, असिष्टेण्ट डाइरेक्टर, क्याम्पस चिफलगायत आन्तरिक प्रशासनिक नियुक्तिहरूमा पनि निश्चित मापदण्ड बनाएर मात्र नियुक्ति गर्नुपर्ने उनीहरूको सुझाव थियो । छलफलमा धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले प्रतिष्ठानको साखमा कुनै गिरावट आउन नहुने भन्दै यहाँका विकृतिहरू हटाउन सुझाव दिएकी थिइन् । 
 
वैशाखभित्र नयाँ उपकुलपति
मन्त्री यादवले कर्मचारी तथा चिकित्सकहरूको गुनासोको जवाफ दिँदै प्रतिष्ठानका समस्या समाधान गर्नकै लागि उपकुलपति रौनियारलाई बर्खास्त गरिएको बताए । सिनेट बैठकले फागुन १७ गते गरेको निर्णयलाई कार्यान्वयन गर्नका लागि सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरूलाई निर्देशनसमेत दिए । उनले आगामी वैशाखभित्र नयाँ उपकुलपति नियुक्त गरिने बताउँदै त्यसपछि प्रतिष्ठानका सम्पूर्ण समस्या समाधान हुने दाबीसमेत गरे । उनले भने, ‘यहाँको समस्याबारे मन्त्रालय गम्भीर छ । सबै अनियमितता अख्तियारले छानबिन गरिरहेको छ । अनियमितता गर्ने जो कोही कारबाहीको दायरामा आउँछन् ।’
 
मन्त्रीलाई नटेरेको, समयमा सिनेट नबोलाएको तथा आर्थिक अनियमिततामा संलग्न भएको भन्दै गत फागुन १७ गतेको सिनेट बैठकले उपकुलपति डा. राजकुमार रौनियारलाई हटाउने निर्णय गरेको थियो । सो निर्णयलाई कुलपति तथा प्रधानमन्त्रीले गत फागुन २६ गते सदर गरेपछि प्रतिष्ठान उपकुलपतिविहीन भएको छ ।
 
‘अर्को शैक्षिकसत्रदेखि स्वायत्त विश्वविद्यालय’
मन्त्री यादवले प्रतिष्ठानलाई स्वायत्त विश्वविद्यालयको रूपमा विकास गर्न सरकारले निर्णय गरिसकेको बताएका छन् । उनले ऐन संशोधन गरेर अर्को शैक्षिक सत्रदेखि विश्वविद्यालयको रूपमा सञ्चालन गरिने जानकारी  दिए । उनले अब पदाधिकारी नियुक्ति गर्दा योग्यता र क्षमताको आधारमा गरिने पनि आश्वासन दिए । कर्मचारीसँगको छलफलअघि उनले नेकपाका नेताहरूसँग छलफल गरेका थिए ।