धरान/ नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय शहरहरूमा रातभर बजार खुल्ला गर्न सुरक्षा प्रदान गरिने बताएका छन् ।
शुक्रबार धरानको पानवारीस्थित आसरा सुधार केन्द्रको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले धरानलगायत देशभरका आन्तरिक तथा वाह्य पर्यटकहरू आउने शहरमा कम्तिमा राती १–२ बजेसम्म बजार खुल्ला हुने वातावरण बनाउन मातहतका प्रहरीलाई निर्देशनसमेत दिए । खनालले भने, ‘एउटा–दुईटा गुण्डाका कारण असुरक्षा हुन्छ भनेर बजार बन्द गराउनु हुँदैन । गुण्डालाई तह लगाएर सुरक्षा दिने काम प्रहरीको हो ।’
धरान, इटहरीलगायतका शहरमा राति १० बजेपछि प्रहरीले नै होटल बन्द गराउँदै हिँड्ने गरेको छ भने होटलमा आउने पाहुनाका सवारी साधनको हावासमेत खोलिदिने गरेको व्यवसायीहरूले गुनासो गर्दै आएका थिए । महानिरीक्षक खनालले आफू प्रहरी सङ्गठनको सुधारमा लागेको बताउँदै आगामी दिनमा प्रहरीले मुद्दा लुकाउने र चेकपोष्टमा बसेका प्रहरीले पैसा लिने क्रम बन्द भएको बताए । प्रहरीले हरेक ३ महिनामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुपर्ने व्यवस्था गरिएकाले नागरिक र पत्रकारलाई प्रहरीका काम कारबाही निगरानी गरेर प्रश्न उठाउन आग्रह गरे । उनले नागरिकप्रति प्रहरी जवाफदेही हुनुपर्ने सिष्टमको विकास गरिएको बताउँदै भने, ‘प्रहरीबाट राम्रो काम भएन भने खबर गर्नुहोला, डिआईजीहरूले पनि काम नगरे मलाई खबर गर्नुस् ।’
आपराधिक क्रियाकलाप गर्नेहरूलाई सचेत गराउँदै उनले लागूऔषध कारोबारीलाई समाजबाट हटाउन सबैले भूमिका खेल्नुपर्ने बताए । उनले प्रहरीले सुरक्षासँगै सामाजिक विकासमा पनि सहकार्य गर्ने भन्दै आसरा त्यसैको एउटा उदाहरण भएको बताए ।
काठमाडौंको रानीबारीमा नेपाल प्रहरी श्रीमती सङ्घले सञ्चालन गरिरहेको आसराको शाखाका रूपमा धरानमा स्थापना भएको सुधार केन्द्र शुक्रबारबाटै सञ्चालन शुरु भएको छ । विभिन्न दाताहरूको विशेष सहयोगमा २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भवन महानिरीक्षक खनालले उद्घाटन गरेका थिए ।
२ सय जना राख्न सकिने आसराको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष प्रतीमा खनाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उपे्रती, धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी, भवन निर्माण समिति संयोजक तथा धरानका पूर्वमेयर मनोज मेन्याङ्वोले दुव्र्यसन नियन्त्रणका लागि महŒवपूर्ण काम भएको उल्लेख गरे ।
कार्यक्रममा जग्गादाता तथा सहयोगीहरूलाई सम्मान गरियो । एक नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी केदार रिजालले दुव्र्यसनी सुधारका लागि आसरा निर्माण भएको भन्दै कुनै दिन सुधार केन्द्रको काम सकिएपछि समाजलाई भवन हस्तान्तरण गर्नेमा आशावादी रहेको बताए ।