विराटनगर/ सरकारले नै कारागारहरूलाई सुधारगृहका रूपमा विकास गर्ने नीति लिएको छ । त्यसैले पनि कुनै अपराध गरेर जेल सजाय पाएको व्यक्ति कैद भुक्तान गरेपछि सुध्रिन्छ भन्ने मान्यता राखिन्छ । विराटनगर–३ का २९ वर्षीय विजय दाहालले भने कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल बसेर फर्किंदा पनि अपराध छाडेनन् । कैद भुक्तान गरी बाहिर आएको दुई वर्ष बित्न नपाउँदै उनी विराटनगरमा नक्कली प्रहरी बनेर अवैध रूपमा पैसा असुली गरेको अभियोगमा पक्राउ परेका छन् ।
 
आफूलाई ‘सादा पोसाकमा खटिएको प्रहरी’ भनेर चिनाउँदै व्यापारीहरूबाट पैसा असुलिरहेका बेला उनी पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । दाहालले विराटनगर–३ भट्टाचोकस्थित श्रम कार्यालयको गेटअगाडि पाथीभरा फोटोकपी सेण्टर सञ्चालन गरी बस्ने ४० वर्षीय भेषबहादुर पोखरलेसँग रकम लिँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । डिएसपी श्रेष्ठ भन्छन्, ‘जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ । यहाँ निरीक्षण गर्न आएको भन्दै धाकधम्की दिई रकम असुल गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।’
 
प्रहरीका अनुसार दाहालले व्यापारीहरूलाई पैसा नदिए अख्तियारमा उजुरी गरिदिने धम्कीसमेत दिएका थिए । उनले केही समयदेखि भट्टाचोक आसपासका पसलहरूबाट ५ सयदेखि १ हजार रुपैयाँसम्म हप्ता असुली गर्दै आएका थिए । हप्ता माग्दा नदिनेलाई दाहालले ठीक नहुने भन्दै धम्कीसमेत दिने गरेको प्रहरीले जनाएको छ ।
 
नक्कली प्रहरी बनेर धम्की दिँदै हप्ता असुली गर्ने दाहाल कर्तव्य ज्यान मुद्दामा १० वर्ष जेल बसेका व्यक्ति रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । डिएसपी श्रेष्ठका अनुसार दाहालले २०६३ कार्तिक ६ गते साविक विराटनगर–६ का भोला भनिने योगेन्द्र सिंह थापाको हत्या गरेको खुलेको छ । हत्या आरोपमा पक्राउ परेका दाहाललाई जिल्ला अदालत मोरङले १० वर्ष कैद सजायको फैसला सुनाएपछि कैद भुक्तान गरेका थिए ।
 
हत्या प्रकरणमा दाहालसहित १२ जना व्यक्ति दोषी देखिएका थिए । अदालतले तोकेको कैद सजाय भुक्तान गरेपछि ०७३ पुस ४ गते छुटेका दाहाल विराटनगरमा प्रहरीको निगरानीमा रहेका थिए । दाहालले प्रहरी सङ्गठनकै बदनाम गरी नक्कली प्रहरी बनेर हप्ता असुली गरे पनि अहिलेसम्म प्रहरीले सुइँको पाएको थिएन । पक्राउ परेका दाहाललाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम कारबाही गर्ने डिएसपी श्रेष्ठले जानकारी दिए ।