सिरहा प्रदेश नम्बर २ मा रहेका जिल्लाहरुमा आत्महत्याका घट्नाहरु बढेका छन् । ८ जिल्लाहरुमा सात महिनामा दुई सय ७७ जनाले आत्महत्या गरेका छन । त्यस मध्य झुण्डिएर एक सय ८९ जना, विष सेवन गरी ८३ जना, आगो लगाएर पाँच जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

त्यसै गरि प्रदेश नम्बर २ मा ५ महिना साउन यता लागू औषधसहित ५ सय ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको ठूलो संख्या १६ देखि २५ वर्ष युवा अवस्थाका व्यक्तिहरू रहेका छन् । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २, जनकपुरका कार्यालयको तथ्याङक अनुसार १६–२५ उमेर समूहका २ सय ५१ जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।

यस्तै सात महिनामा २ सय ३८ बलात्कार मुद्दा प्रहरीमा दर्ता भएको छ । साउनदेखि माघ सम्ममा जबर्जस्ती करणी मुद्दा १ सय ६० र जबर्जस्ती करणी उद्योगमा ७८ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता थापाले बताए ।
प्रहरीमा दर्ता भएका मुद्दामा १० वर्ष मुनिका २२ बालिका समेत बलात्कृत भएका छन । १६ वर्षमुनिका सबैभन्दा बढी १ सय ३० जना बालिका बलात्कृत भएका छन   । प्रदेश प्रहरीका अनुसार १६ वर्षभन्दा माथिका १ सय ८ जना बलात्कृत भएका छन । २ सय ३८ बलात्कारका घटनामध्ये चिनजानकै २ सय ६० जना बलात्कारमा संलग्न भई घरभित्र १ सय ४९ र घरबाहिर ८९ बलात्कारको घटना भएको छ ।